मलेसियामा एक नेपालीको मृत्यु

Posted on: 02 Sep, 2021

भदौ १७, काठमाडौं (रासस)। बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । 

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको मलेसियाबाट दिनेश खड्काले जानकारी दिए । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । 

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ । विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ । रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।  

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!