वैदेशिक रोजगारीमा तीव्र गिरावट

Posted on: 20 Jul, 2021

साउन ५, काठमाडौं । कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ ।

यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ ।

कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०५ मा सिमित भएको छ ।

३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो ।विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स भने घटेको छैन ।

वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी भएको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा २५० प्रतिशत कमी आएर १ लाख ४१ हजार ९७७ पुगेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!