कोरिया जाने कामदारले ५ हजार डलरको कोरोना बीमा गराउनुपर्ने

Posted on: 08 Jul, 2021

असार २४, काठमाडौँ । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखा कार्यालयले ५ हजार डलरको कोभिड-१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो । इपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदाहरूको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ । साथै, शाखा कार्यालयले उक्त तोके बमोजिमको बीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बीमा कम्पनीहरूले साउन ७ गतेभित्र कोरिया शाखामा सूचिकृत संस्था दर्ताको लागि आधिकारिक कागजातको प्रतिलिपिसहित निवेदन दिन आग्रह गरेको छ ।

जसमा कोरिया सरकारले गत वर्षबाट श्रमिकहरूको अनिवार्य कोभिड–१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक रुपमा सो रकम बराबरको बीमा गर्ने कम्पनीहरूलाई सूचिकृत हुन सूचना जारी गरिएको (इपीएस) कोरिया शाखाका निर्देशक इन्द्र गौतमले साझा सवाललाई जानकारी दिए । त्यस्तै, बीमा कम्पनीहरूलाई ५ हजार डलरको प्रिमियम तोकेको अवस्थामा लाग्ने  बीमा शुल्क कामदारले नै तिर्नुपर्ने उनले बताए ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण कोरियाले नेपालसहित श्रोत मुलुकबाट विदेशी कामदार लिन प्रतिवन्ध लगाएको  छ। जसका कारण हाल ८ हजार जनाको करार सम्झौताआएकाहरु कोरिया जाने प्रतिक्षामा रहेको गौतमले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!