वैदेशिक रोजगारमा पठाएर भनेजस्तो नभएपछि एजेन्टको गोली हानेर हत्या

Posted on: 03 Jul, 2021

असार १९, काठमाडौँ | विदेशमा आफ्नो छोराले राम्रो काम नपाएपछि कपिलवस्तुमा एक बाबुले वैदेशिक रोजगारमा पठाउने एजेन्टको गोली हानी हत्या गरेको खुलेको छ । हत्या भएका व्यक्ति कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरी रहेका थिए । 

कपिलवस्तु प्रहरीले हत्याका मुख्य अभियुक्त भनिएका विजयनगर गाउँपालिका-१ (साविक गणेहपुर गाविस–१) का ५० वर्षीय पशुपति कुर्मीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न पुरीको २०७५ चैत १७ गते राति साढे ९ बजे गोली हानी हत्या गरिएको थियो । उनको हत्या योजना अनुसारनै भएको प्रहरीले जनाएको छ । 

हत्या पछि फरार अवस्थामा रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि प्रहरीले कुर्मीलाई हिरासतमा लिएको छ । निजलाई भारतको महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिएका छन् ।


कुर्मीका छोरालाई बहराइनमा वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्ट पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए । तर विदेश पठाएपछि उनका छोराले भनेजति तलब र काम पाएनन् । 

विदेशमा पिडित बनेपछि कुर्मीले एजेन्टसँग विदेश जानु अघि लिएको लागत फिर्ता माग्दा पैसा फिर्ता नपाएपछि भारतमा बसेर मार्ने योजना बनाएका थिए । योजनापछि नेपाल आएका कुर्मी सहित अरु दुई जनाले पुरीको घरमा पुगेर पैसा फिर्ता माग्दा पैसा नदिएपछि कटुवा पेस्तोलले हानेर हत्या गरेर फरार भएका थिए ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य दुई जनाको खोजि भईरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!