जिट्को नवीकरणको लागि वैदेशिक रोजगार विभागले आवेदन माग्यो

Posted on: 02 Jul, 2021

असार १८, काठमाडौं । वैदेशिक रोजगार विभागले जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीहरुलाई नवीकरण हुन एक महिनाको समय दिएको छ ।

विभागले जिट्को लाइसेन्स नवीकरण गर्नका लागि एक महिनाको समय दिएर बिहीबार सूचना सार्वजनिक गरेको छ । विभागले जिट्कोमा सूचीकृत म्यानपावर कम्पनीहरुले जुलाई ३१ अर्थात साउन १६ गतेभित्र निवेदन दिइसक्नुपर्ने बताएको छ ।

नवीकरण हुन चाहने म्यानपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर वापत दश हजार रुपैयाँ बुझाएको रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, जिट्को मार्फत गत आर्थिक वर्ष २०७६/७७ मा कामदार पठाएको विवरण, आगामी आर्थिक वर्ष २०७८/०७९ वा सो भन्दा अगाडिका आर्थिक वर्षका लागि म्यानपावर नवीकरण भएको प्रमाणपत्र, बैंक ग्यारेन्टी र नगद धरौटी, कर चुक्ता प्रमाणपत्र, कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आर्थिक वर्षसम्म अध्यावधिक भएको वा प्रक्रिया शुरु भएको प्रमाणित हुने कागजात पेश गर्न भनेको छ ।

म्यानपावर कम्पनीले प्रशिक्षार्थी कामदार जापान पठाउन पाउने भएपछि करिब साढे दुई सय म्यानपावर कम्पनी सूचीकृत भएका थिए । विभागमा सूचीकरण हुने तर जापानमा कामदार पठाउन नपाउने भएपछि धेरै म्यानपावर कम्पनीहरुले जिट्को तर्फको लाइसेन्स नवीकरण गराउन छोड्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!