खाडीबाट नेपालीले पठाए ५ सय ६० वटा अक्सिजन सिलिन्डर, आइतबार हस्तान्तरण हुने

Posted on: 15 May, 2021

जेठ १, काठमाडौँ | खाडीबाट नेपालीले पठाएको  ५ सय ६० वटा अक्सिजन सिलिन्डर नेपाल आईपुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा अक्सिजन सिलिन्डरहरु काठमाडौँ ल्याइएको हो । 

मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमले ओमानबाट नेपाल एयरलाइन्सको जहाज मार्फत ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । यो अभियान गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत हो । 

संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको अनुसार ओमानमा रहेको नेपाली 'सोसल क्बल', नेपाली दूतावासको पहल र खाडीमा काम गर्ने नेपालीहरुको सहयोगबाट ४/५ दिनकै पहलमा सिलिन्डर नेपाल पठाउन सफल भएको हो । 

ओमानबाट फर्किएको जहाज आजै राति ११ बजे चीनको राजधानी बेइजिङ जाँदैछ । चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!