वैदेशिक रोजगारीमा गएका १९४ महिला सम्पर्कविहीन

Posted on: 02 Jan, 2019

पुस १८, राँझा (रासस) | वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् । 

बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको सो संस्थाका संयोजक केशव कोइरालाले बताउनुभयो । आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण यात्रामा भारत तथा खाडी मुलुकमा पुगेर हराएका छन् । माइती नेपाल नेपालगञ्ज कार्यालयको सन् २०१८ को तथ्याङ्कअनुसार, बाँकेको कोहलपुर नगरपालिकाका ६२ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका चार र डुडुवा गाउँपालिकाका दुईजना घरपरिवारको सम्पर्कमा छैनन् । 

प्रायः पर्यटन भिसामा खाडी मुलुकमा जाने उनीहरू तीन महीनासम्म घरपरिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता रहेको कोइरालाले बताउनुभयो । कतिपयलाई मालिकले जोखिमपूर्ण काममा लगाई घरपरिवारसँग सम्पर्क गर्न नदिने गरेको अवस्था छ । 

इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक शिवकुमार वलीले पठाउँदा लुकीछिपी दलालको विश्वासमा पठाउने र हराएपछि मात्र प्रहरी र सङ्घसंस्थाको सम्पर्कमा आउने हुनाले खोजतलासमा कठिनाइ हुनेगरेको बताउनुभयो । 

मानवबेचिबिखन विरुद्ध कार्यरत सङ्घसंस्थाहरूसँग समन्वय गरी मानव बेचबिखन विरुद्ध क्रियाशील रहेको उहाँको भनाइ छ । सन् २०१८ मा असुरक्षित यात्रामा रहेका ९२० जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको छ । 

अधिकारकर्मी कमला पन्तले सीमापार यौन शोषण तथा श्रम शोषण र अङ्ग बेचबिखनका लागि मानव बेचबिखन हुने गरेको पाइएको बताउनुभयो । 

बर्दियाबाट एकसय एक हराए 

छिमेकी जिल्ला बर्दियाबाट सन् २०१८ मा १०१ महिला रोजगारीको सिलसिलामा गएर हराएको पाइएको छ । बढैयाताल गाउँपालिकाबाट ३२, बाँसगढी नगरपालिकाबाट २५, मधुवन नगरपालिकाबाट २२, बारबर्दिया नगरपालिकाबाट छ, राजापुर नगरपालिकाबाट तीन, ठाकुरबाबा नगरपालिकाबाट नौ र गेरुवा गाउँपालिकाबाट चार महिला बेपत्ता भएका छन् । 

उनीहरूको आफन्तले प्रहरी र मानव बेचबिखन विरुद्ध काम गर्ने सङ्घ संस्थामा खोजतलासका लागि निवेदन दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!