जापानबाट रोजगारीको प्रलोभन देखाएर साढे २ करोड ठगी आरोपमा एक जना पक्राउ

Posted on: 22 May, 2023

जेठ ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेका छन् ।

उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको दाहालले बताए ।


बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेका थिए । ठगी प्रकरणमा उनका भाइ, बुहारी र बहिनी पनि आरोपित छन् । एक वर्षअघि जापानमा बसेर उनले आफन्त र साथीभाइलाई फोन गरेर जापान लैजाने लोभ देखाएका थिए ।

अजयबाट ठगीएको बताउने सुनबर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी अजयकै साथी हुन् । निजी विद्यालय पढाउने मदनलाई २०७९ वैशाखमा जापानबाट अजयले फोन गरेर रोजगारीको अफर गरेका थिए । मासिक २ लाख ५० हजार तलब आउने भन्दै त्यसका लागि १६ लाख रुपैयाँ खर्च गर्नुपर्ने बताए ।

जापान जाने आशाम जग्गा र स्कुटर बेचेर उनले १६ लाख रुपैयाँ बुझाए । तीन महिनाभित्र विदेश उडाउछु भन्ने अजय सम्पर्कविहीन भएपछि आफू ठगिएको थाहा पाएको मदनले बताए । मदनजस्तै १६ लाख रुपैयाँ बुझाएका विवेक राजवंशी पनि आफू ठगिएको बताउँछन् ।

रंगेली नगरपालिका-९ का हरि राजवंशीले पनि अजयलाई पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् । वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनलाई अजयले फोन गरेर जापान बोलाएपछि कतार पुगेको १० महिनामै नेपाल फर्किए । इलेक्ट्रिक कम्पनीमा मासिक एक लाख ५० हजार रुपैयाँ तलब पाउने लोभ देखाएपछि काम छाडेर फर्किएको हरिले बताए ।

अजयले एक जना व्यक्तिबाट न्यूनतम पाँच लाख देखि १६ लाख रुपैयाँसम्म असुल गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् । अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको थियो । अजयका बाबु विसमलाल भने केही महिनाअघि पक्राउ पछि हाजिर जवानीमा छुटेका थिए ।

अजयले जापान बसेर व्यक्तिगत रुपमा सम्पर्क गरेर रोजगारीको प्रलोभन देखाएर ठगी गरेको पाइएको डीएसपी दाहालले बताए । ‘व्यक्तिगत रुपमा सम्पर्क गरेर अफर गर्दै ठगी गरेको देखिन्छ’ उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!