वैदेशिक रोजगारमा १५ वर्षको अन्तरालमा ११ हजार बढीको मृत्यु, तर घटेन आकर्षण

Posted on: 23 Mar, 2023

चैत ९, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपालीको संख्या वर्षेनी बढिरहेको पाइएको छ । हरेक वर्ष तीनदेखि साढे चार लाखको संख्यामा नेपालीहरुले विदेशी मुलुकमा पसिना बगाइरहेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

बोर्डको तथ्यांक अनुसार कुल ५४ लाख १५ हजार ३१७ जना नेपाली नेपालीहरु वैदेशिक रोजगारका शिलशिलामा विभिन्न मुलुकमा गएका छन् । जसमध्ये ५० लाख ९१ हजार ७४६ जना पुरुष र तीन लाख २३ हजार ६३३ जना महिला रहेका छन् ।


चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा चार लाख १४ हजार ५४६ जना नेपालीहरु वैदेशिक रोजगारका शिलशिलामा विभिन्न मुलुकमा गएका छन् । जसमध्ये तीन लाख ७७ हजार १५५ जना पुरुष र ३७ हजार ३९१ जना महिला रहेका छन् ।

बोर्डका अनुसार २०६५/०६६ पछि चालु आर्थिक वर्ष २०७९/०८० को तथ्यांकका आधारमा हेर्दा चालु आर्थिक वर्षको ६ महिनामै ठूलो संख्यामा बाहिरिएको देखियो ।

११ हजार बढीको विदेशमा मृत्यु, दुई हजार बढीको अङ्गभङ्ग

१५ वर्षको अन्तरालमा वैदेशिक रोजगारीका क्रममा खाडी लगायतका विभिन्न मुलुकमा गएका ११ हजार बढी नेपालीहरु शव वर्षे बाकसमा फर्किएको छ । बोर्डका अनुसार मृत्युको कारण क्यान्सर, हृदयघात, कोरोना तथा अन्य रोग, सडक दुर्घटना, कार्यस्थलमा दुर्घटना, आत्महत्या, प्राकृतिक निधन तथा हत्याका कारण आर्थिक वर्ष २०६५/६६ देखि हालसम्ममा ११ हजार ५६२ जना नेपालीको विदेशमा मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा नेपाल सरकारको श्रम स्विकृति लिएर विदेशमा काम गर्न गएका ८०७ जना नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डका उपसचिव तथा प्रवक्ता राजन पौडेलका अनुसार विदेशमा ज्यान गुमाउने सबैभन्दा बढी खाडी मुलुकमा गएका कामदार रहेका छन् । जसमध्ये युएईमा १३२, साउदी अरेवियामा २३६, कतारमा १४८, मलेसियामा १७६, कुवेतमा १५, बहराइनमा १३, साउथ कोरियामा १४, ओमनमा ५, जोडनमा २ जना लगायत युरोपियन तथा सेन्जेन मुलुकका क्रोसिया, माल्टा, पोर्चुगल, साइप्रस, बु्रनाई तथा इजरायलबाट नेपालीको शव आएको उनी बताउँछन् ।

त्यस्तै यस अवधिमा दुई हजार २५० जनाको अङ्गभङ्ग भएको छ । यस वर्ष मात्रै १२५ जना नेपालीको अङ्गभङ्ग भएको छ । विदेशमा कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना, विभिन्न रोग संक्रमण तथा अन्य कारणले गर्दा उनीहरुको अङ्गभङ्ग भएको प्रवक्ता बताउँछन् ।

रेमिट्यान्सको लोभ

त्यसो त नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सले सबैभन्दा बढी हिस्सा ओगटेको छ । बोर्डका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि (संस्थागत तथा व्यक्तिगत नयाँ) श्रम स्किृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७३६ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्किृति लिने नेपालीको संख्या समिक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!