गत महिना वैदेशिक रोजगारमा जान ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिए

Posted on: 19 Mar, 2023

चैत ५, काठमाडौँ । गत फागुन महिनाभर वैदेशिक रोजगारको शिलशिलामा ६१ हजार ८४५ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागद्वारा सार्वजनिक जानकारी अनुसार गत महिना ७० म्यानपावरले १०० भन्दा बढी कामदार पठाएका छन् भने ६९८ म्यानपावरले गत महिना कामदार वैदेशिक रोजगारमा पठाउन सबै प्रक्रिया पुरा गरेका छन् । 

फागुन महिनाभर वैदेशिक रोजगारमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका मध्ये २९ हजार २८८ जना बिभिन्न म्यानपावरबाट छन् । जसमा महिलाको संख्या २ हजार एकसय ८२ जना रहेको छ । यस अवधिमा सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिने म्यानपावर काठमाडौँ बत्तीसपुतली स्थित द रिभर ओभर्सिस रहेको छ । यो म्यानपावरले फागुनमा मात्र एक हजार १७ जान कामदार वैदेशिक रोजगारमा पठाउने प्रक्रिया पुरा गरेको छ । यस म्यानपावरबाट वैदेशिक रोजगारमा जाने महिलाको संख्या भने अति न्यून रहेको छ । यस म्यानपावरबाट वैदेशिक रोजगारको लागि २ जना मात्र महिलाले अन्तिम स्वीकृति लिएका छन् । 

यस्तै फागुन महिनामा सर्वाधिक कामदार पठाउन अन्तिम स्वीकृति लिने मध्ये दोश्रो नम्वरमा ललितपुर स्थित इन्टरनेशनल म्यानपावर सर्भिस प्रालि रहेको छ । यो म्यानपावरले फागुनमा चार सय जना पुरुष र नौ जना महिला कामदार वैदेशिक रोजगारमा पठाउन सवै प्रक्रिया सकेर अन्तिम श्रम स्वीकृति लिएको छ । यस्तै तेश्रो नम्बरमा रहेको काठमाडौँ स्थित एक्सिस पार्टनरर्स प्रालिले १० जना महिला सहित ३७२ जना नेपाली कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ । 


फागुन अघि माघ महिनामा बिभिन्न म्यानपावरबाट ३२ हजार २१७ जना युवाले अन्तिम स्वीकृति लिएका थिए । माघको तुलनामा फागुनमा वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिनेको संख्या केहि घटेको छ । यस्तै म्यानपावरको सहयोग बिना आफै व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेहरुको संख्या ५ हजार ५३६ जना छन् । यस अवधिमा जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ ।

यस अवधिमा म्यानपावर कम्पनी मार्फत सबैभन्दा बढीले वैदेशिक रोजगारमा मलेसियाको स्वीकृति लिएका छन् । मलेसिया जान  १६ हजार सात जनाले अन्तिम स्वीकृति लिएका छन्, जस मध्ये २८० जना महिला रहेका छन् । 

गत फागुन महिनाभर वैदेशिक रोजगारमा जान स्वीकृति लिएका युवाहरुमध्ये अधिकांश युवाहरु दक्ष कामदारको रुपमा रहेका छन् । फागुनमा अन्तिम श्रम स्वीकृति लिनेहरु मध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’, १३ हजार ५८० जना अदक्ष, ५ हजार ४४९ जना अधिदक्ष, ६८ जना प्रोफेसनल र ३० जना उच्च दक्षता हासिल गरेकाहरु छन् । 

स्रोत: वैदेशिक रोजगार बिभाग

यस बिषयमा तपाइको प्रतिक्रिया...!