पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने

Posted on: 28 Jan, 2023

माघ १४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभएको छ । 

यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गर्नुभएको थियो । उहाँले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गर्नुभएको थियो । 

दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उहाँले विदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु छ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गर्नुभएको हो ।

“आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौँ, सङ्कलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ”, पर्यटनमन्त्रीले उल्लेख गर्नुभएको छ ।

पर्यटनमन्त्रीको सचिवालयका अनुसार सङ्कलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ । उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!