१४ महिनादेखि नतिजाको प्रतीक्षामा त्रिविका विद्यार्थी !

Posted on: 23 Sep, 2022

असोज ७, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् । 


प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा छन् । तर, प्रथम वर्षको नतिजा नै आउन सकेको छैन । अहिले स्नातक तह प्रथम वर्षमा नयाँ र पुराना गरेर दुई समूह छन् । त्यसमा नतिजाको परीक्षामा रहेका तेस्रो समूह पनि छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि पतिव्रता साथ तयारी थालिरहेको जनाएको छ । सहायक परीक्षा नियन्त्रक महेश ओझाले नतिजा प्रकाशनको लागि अहोरात्र खटिएर काम भइरहेको बताए । 

त्रिविले १० असोजदेखि दसैँ बिदा दिएको छ । त्यसपछि असोज २४ गते मात्रै त्रिवि खुल्छ । १/२ दिनभित्रमा नतिजा प्रकाशन गर्न सकिएन भने दसैँ बिदापछि मात्रै नतिजा प्रकाशन हुनेछ । ‘अहिले हाम्रो सम्पूर्ण ध्यान नतिजा प्रकाशनमै छ । अब धेरै ढिला हुँदैन । नतिजा जतिसक्दो चाँडो प्रकाशन गर्नेगरी तयारी गरिरहेका छौं । ठ्याक्कै कति समयमा प्रकाशन हुन्छ भन्न सकिने अवस्था भने छैन,’ सहायक परीक्षा नियन्त्रक ओझाले भने । क्रमिक रूपमा नतिजा तयार भइसकेका विषयमा नतिजा प्रकाशन गर्दै जाने उनले बताए । प्रथम वर्षको नतिजा तयार भइसकेको र त्यही आधारमा प्राविधिक विषय टुंग्याएर नतिजा प्रकाशनको काम भइरहेको उनको भनाई छ । त्रिविमा लामो समयदेखि भइरहेको तालाबन्दीका कारण नतिजा प्रकाशनमा समस्या भइरहेको त्रिविले जनाएको छ । त्रिविको रजिष्ट्रार कार्यालयदेखि अधिकांश विभागमा र महाशाखामा तालाबन्दी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!