कक्षा १२ को नतिजा प्रकाशन

Posted on: 02 Sep, 2022

भदौ १७, काठमाडौँ | कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो । 

यसवर्ष ग्रेडिङ पद्धतिअनुसार परीक्षाफल प्रकाशित गरिएकाे छ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी उहाँले दिनुभयो ।

यसवर्ष नियमिततर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइने बाेर्डले जनाएकाे छ ।

गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्ने व्यवस्था गरिएको छ । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!