कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने : अध्यक्ष शर्मा

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने बताएका छन् । गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा सम्भव भएसम्म आजै प्रकाशन गर्ने गरी लागिरहेको छन् । 

अध्यक्ष शर्माले भने,– १ बजेसम्म हाम्रो टेक्निकल कुरा कन्फर्म हुन्छ । त्यसपछि प्रोसेसिङ हुन मात्रै ३-४ घण्टा लाग्छ । टेक्निकल टिमले अहिले हेरिराख्नु भएको छ  सम्भव भएसम्म आजै प्रकाशन गर्ने तयारी रहेको शर्माको भनाइ छ । ‘टेक्निकल कुरा कन्फर्म भएपछि बोर्डको बैठक बसेर निर्णय गर्न ठुलो कुरा भएन् । त्यो त एक छिनको काम हो ।’

आज सम्भव नभएको खण्डमा भोलि प्रकाशन गरिने उनको भनाई छ । उक्त परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी थिए ।  यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गर्न लागेको छ । उक्त निर्देशिका अनुसार यसपालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ । 

प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा पुनः परीक्षा दिनुपर्नेछ । यसअघि माध्यमिक परीक्षा (एसईई) मा पनि यही नन– ग्रेडिङ लागू गर्ने भनिएको थियो । तर, अन्तिममा आएर रोकिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!