स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अवसर, यसरी दिनुहोस् आवेदन

Posted on: 11 Aug, 2022

साउन २६, काठमाडौँ । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरशिप– २०७९’ का लागि आवेदन खुला गरेको छ ।

काठमाडौंस्थित मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरी महासंघले छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो ।


यस कार्यक्रममार्फत ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

यसअन्तर्गत देशका सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने महासंघले जनाएको छ ।

‘फिमेल मेरिट आईसीटी स्कलरशिप’मा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने ‘आईसीटी मेरिट स्कलरशिप’ अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्तिप्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एन्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत ‘बीएस्सी आईटी’ कार्यक्रम अध्ययन गर्न पाउनेछन् ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट वा लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्ने जनाइएकाे छ ।

आवेदन दिँदा कक्षा १० र १२ को मार्कशिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

आवेदन दिएका विद्यार्थीहरूको अनलाइन परीक्षा २०७९ साल भदौ १० गते हुने र भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुने महासंघले जनाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!