एसईईका प्रश्नपत्रमा त्रुटि

Posted on: 01 May, 2022

वैशाख १८, काठमाडाैं | माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्रमा त्रुटि भेटिएपछि विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । त्रुटिले विद्यार्थीको मनोबल गिराउने र उनीहरू मारमा पर्ने कास्कीका विज्ञान विषयका शिक्षक पुष्प पौडेलले उल्लेख गरेका छन् । त्यस्तो प्रश्नपत्र बनाउनेलाई कारबाहीसहित ‘पीडित’ विद्यार्थीलाई क्षतिपूर्तिको व्यवस्था गर्न उनले सामाजिक सञ्जालमार्फत माग समेत गरेका छन् ।

विज्ञान विषयको प्रश्नपत्रमा अंग्रेजी अनुवाद गलत भएको, पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको, सान्दर्भिक नभएको, अस्पष्टता, टेबल गलतलगायत त्रुटि रहेको उनको भनाइ छ । शिक्षक पौडेलको भनाइमा अरू व्यक्तिले पनि सहमति जनाएको देखिन्छ ।

यस्तै, गणितका केही प्रश्न स्तरभन्दा कठिन र गलत समेत सोधिएको पाइएको छ । प्रश्नहरू गलत र त्रुटिपूर्ण भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

केही शिक्षकले कक्षा–१० मा कस्ता किसिमका प्रश्न सोध्ने भन्ने जानकारी नै नलिई आफूखुसी बनाउँदा यस्तो लापरबाही भएको औँल्याएका छन् ।

एसईईमा देखिएको समस्या समाधान हुने शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ छ । उनले भनेका छन्, “केही प्रश्नपत्रहरूमा शिक्षकको समेत गुनासो आएको छ । सम्बोधन हुन्छ । विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।”

एसईईमा मात्र होइन, अरू कक्षाको प्रश्नपत्रमा पनि गम्भीर त्रुटि भेटिएको छ । विद्यालयको वार्षिक परीक्षाका प्रश्नपत्रमा उत्तिकै त्रुटि छन् । कक्षा–८ को नैतिक विषयको प्रश्नपत्रमा समेत त्रुटि छ ।

यता, राष्ट्रिय परीक्षा बोर्डले कक्षा–८, १० र १२ को वार्षिक परीक्षामा कम्तीमा पाँच वर्षसम्म प्रश्न नदोहोरिने गरी प्रश्नपत्र तयार गर्ने योजना बनाएको छ । बोर्डले पहिलो चरणमा अनिवार्य विज्ञान, अंग्रेजी र गणित विषयका स्तरीकृत प्रश्नपत्र बैंक तयार गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!