चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय सञ्चालित

Posted on: 01 Jan, 2022

पुस १७, काठमाडौँ | रासस | सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ । 

अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँमा अवस्थित श्री हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ ।

सो विद्यालय महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा अवस्थित छ भने यहाँबाट सङ्घीय सांसदमा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर एवं प्रदेश सभासदस्यमा सोही पार्टीका रानीकुमारी तिवारी निर्वाचित हुनुभएको छ । उहाँहरुले समेत कुनै चाँसो नराख्दा विद्यालयको अवस्था जस्ताको त्यस्तै रहेको छ । नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालय अहिले बालकक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन् । आफँै प्रधानाध्यापक, आफँै कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामयाद राउतले बताउनुभयो ।

विसं २०१० मा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन । भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं प्र अ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गर्नुभयो ।

त्यस विद्यालयको बालकक्षामा २०, १ कक्षामा ६१, २ कक्षामा ७४, ३ कक्षामा ५३, ४ कक्षामा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रा त्यस विद्यालयमा अध्ययनरत छन् । 

त्यस विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् भने सोही कोठामा प्र अ राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहनुभएको छ । विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको प्र अ राउतले बताउनुभयो ।

करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर रहेको र शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय बयोबृद्ध बुधवा सदाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!