मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

Posted on: 28 Sep, 2021

असोज १२, मकवानपुर | मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 

आज दिउँसो १:३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएको तर एकजना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए । आज साँझ बालिकाको शव फेला परेको प्रनानि रिमालले बताउनुभयो । 

मृत्यु हुने बालिका राक्सिराङ–८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिकाको शव डेढ किलोमिटर तल भेटिएको थियो । 

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकसहितको टोली पुगी अनुसन्धान एवं मुचुल्का उठाउने काम गरिरहेको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!