भरतपुरका विद्यालय बन्द : परीक्षा नियमित

Posted on: 20 Apr, 2021

वैशाख ७, चितवन । सरकारले कोरोना भाइरसबाट प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आजदेखि भरतपुर महानगरपालिकाका सबै शैक्षिक संस्था बन्द भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै भरतपुर महानगरका सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर र तालीम केन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति नहुने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

विद्यालय बन्द गरी अनलाइन कक्षा भने नियमित सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । जिल्लाका अन्य पालिकाको हकमा भने यो निर्णय लागू हुने छैन । अर्को निर्णय नभएसम्मका लागि विद्यालय नियमित सञ्चालन हुने लामिछानेले बताउनुभयो । 

भरतपुर महानगरपालिकाभित्रका तीन विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । विद्यालय र क्याम्पसका पूर्वनिर्धारित परीक्षा भने आलोपालो र सिफ्टमा गरिएको लामिछानेले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!