साक्षर प्रकाश नेपालीको कला सङ्घर्ष !

Posted on: 18 Dec, 2018

राजु पौडेल | पुष ३, कुश्मा, (रासस) | गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो । 

चित्र कोर्न र मूर्ति कुँद्न भनेपछि हुरुक्कै हुने उहाँको त्यो कला र क्षमताप्रति त्यतिबेला यहाँ कुनै मूल्य थिएन । आफूसँग भएको सीपको मूल्य नभएका कारण उनलाई दुईचार पैसा बढी कमाइएला कि भन्ने लोभले अवसरको खोजीमा खाडी मुलुक जान प्रेरित ग¥यो । उहाँको कलाको त्यतिबेला यहाँ मूल्य थिएन र कसैले उहाँको कलालाई चिन्न पनि सकेन, छरछिमेक, इष्टमित्र, साथीसँग सबैसँग सल्लाह गरेपछि उहाँ विदेशिनुभयो । 

पर्वत जिल्ला कुश्मा नगरपालिका–७ गोदाम निवासी बुबा पूर्णबहादुर नेपाली र आमा देवकी नेपालीका सुपुत्र प्रकाश अहिले भने कुश्माका नाम चलेका कलाकारको परिचय बनाइसक्नुभएको छ । पछिल्लो समय उहाँको कला बिक्न थालेका छन् । उहाँ आफ्नो कलामा सफल रूपमा उत्रन सक्नुभएको छ । उहाँको कला क्षमताको प्रशंसा गर्दै गत वर्ष मात्र पर्वत जेसिसले उहाँलाई ‘युवा सम्मान’ कार्यक्रमअन्तर्गत सम्मान गरेको थियो । 

सानो छँदा आफूले किताब हेरेर राजा महेन्द्रको चित्र कोरेको याद गर्ने उहाँ त्यही चित्रबाट विद्यालयका सबै गुरु र साथीहरु खुशी भएको स्मरण गर्नुहुन्छ । चित्र कोर्न सिपालु उहाँ क्रमशः मूर्ति कुँद्न र कला भर्न पनि उत्तिकै सिपालु हुँदै जानुभयो । तर, उहाँको कला क्षमताको पहिचान हुन नसक्दा उहाँ साउदीमा छ वर्ष भासिन बाध्य हुनुभयो । 

साउदीको एक स्थानीय कम्पनीमा डेकोरेशन, नयाँ तथा पुरानो घरको साजसज्जाको विशेष कला ड्रोइङ गर्ने उनको कामले त्यहाँ पनि निकै चर्चा कमाएको उहाँ बताउनुहुन्छ । उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “मैले काम गर्ने कम्पनीमा मेरो कामको उच्च प्रशंसा भएपछि साइडमा सोही काम गर्ने अन्य कम्पनीले समेत डाहा गर्न थाले र मलाई हरेकदिन दबाब दिन थाले ।” 

“कि काम छाड, होइन भने हामीलाई पनि यी यस्तै जानेको काम सिकाइदेऊ !” यी यस्ता विविध धम्की, उल्झन र दबाब उनले साथीहरुमार्फत खेपिनैरहँे । तर यी कामहरु उहाँ आफू चाहे जसरी अरुलाई दिन सक्ने कुरै थिएन । किनकि उहाँको कला कसैसँग रुपैयाँमा सम्झौता भइसकेको थियो । जसका कारण उहाँको मर्जी त्यहाँनेर गौण बन्थ्यो । यिनै विविध कारणले उहाँ क्षमता भइकन पनि विदेशमा असुरक्षित महसुस गर्ने गरेको स्मरण गर्नुहुन्छ । 

“नेपाल फर्कुँ भने गरीबीको पहाड अझैँ मेरा अगाडि भीमकाय बनेर उभिएको थियो, नर्फकुँँ भने म क्षणक्षणमा असुरक्षित बन्दै गएको थिएँ”, उहाँले आफ्नो अत्यासलाग्दो विगत कोट्याउनुभयो । 

“घरबाट महङ्गो ऋण खोजी गरेर आएको मान्छे, ऋण चुक्ता गर्न सकेको थिइनँ । यता साउदीको हेलाहोचो र दुःख पनि खपिनसक्नुको थियो । तर, मनमा बिझिरहेको थियो कि, आफू आएको ऋण तिर्न मात्रै सके भने म एकक्षण पनि यहाँ बस्दिनँ । फलतः छ वर्षसम्म गरेको कामले घरको व्यवहार र आएको ऋण तिर्न सकेँ । र आफू कार्यरत कम्पनीलाई आफू घर फर्किन चाहेको कुरा राखँे । तर, कम्पनीले स्वीकृति दिएन । छुट्टीमा जाने हो भने गएर आइज तर नआउने गरी जाने हो भने केही वर्ष पर्खिबस भन्यो । एक वर्ष, दुईवर्ष हुँदाहुँदै छ वर्षसम्म कम्पनीले फिनिस आउन दिएन । अनि छुट्टी भनेरै आएँ र पुनः गइन ।” उहाँले आफ्नो साउदी कहर सुनाउनुभयो । 

यी यसरी छ वर्ष साउदीमा बिताएर उनी विसं २०६७ मा नेपाल फर्किए । र आज पर्यन्त उनी आफ्नो त्यही साउदीमा सिकेको÷माझेको कला, ज्ञानलाई थप परिस्कृत र परिमार्जित गर्दै अगाडि बढिरहनुभएको छ । तर, उनलाई जिन्दगीको पछुतो भनेको आफूले चाहेर पनि पढ्न नपाएकोमा छ । उहाँ भन्नुहुन्छ, “त्यो बेला न पढाइको महत्व बुझ्न सकेँ, न मेरो हातमा भएको कलालाई यहीँ सिञ्चित गरेर बस्न सकेँ । अहिले त्यो भन्दा पछुतो अरु केही भएको छैन”, उहाँ विगत सम्झँदै पश्चाताप गर्नुहुन्छ । 

यतिबेला भने उहाँ खाडीको रापमा जलेर भन्दा आफ्नै माटोमा रमेर भविष्य खोज्दै पर्वत, बागलुङ र बेनी आसपासका अनेक घर, विद्यालय, होटल तथा रेष्टुराका भित्ता, बगैँचा र खाली स्पेशमा सिमेन्ट र कंक्रिटका कला भर्दै हिँडिरहनु भएको छ । उहाँलाई श्रीमती गोमा नेपालीको साथ पनि उत्तिकै मिलेको छ । भर्खर ३४ वर्ष पूरा गर्नुभएका प्रकाश अब भने विदेश जाने मुडमा हुनुहुन्न । आफ्नै गाउँ परिवेशमा बढ्दै गएको शहरीकरणसँगै बन्दै गएका नयाँ संरचनामा उनको कलाले ठाउँ पाउन थालेको छ । 

ड्रोइङ गर्नेदेखि सिमेन्ट र कंक्रिटको काममा उनी विशेष रुचि र दख्खल राख्नुहुन्छ । उहाँले बनाएका कलामा प्रायः सबै लोभ्भिएका छन् । विभिन्न शालिक, देवीदेवताका मूर्ती, फुल, बुट्टा, डेकोरेशनदेखि विविध प्राकृतिक सम्पदा, पशुपछीलगायत मानिसको झट्टै ध्यान खिच्न सक्ने कला सिर्जना गर्ने व्यक्तिका रुपमा उहाँलाई हिजोआज सबैले चिन्छन् । र, उहाँलाई कामको भ्याइनभ्याइ पनि छ । 

पर्वत सदरमुकाम कुश्माबजारमा सिर्जना भएका कलामध्ये ८० प्रतिशत बढी कलामा उनकै पसिना सिञ्चित छ । उसो त चर्चित ‘बागलुङ बजारमा बाघको सालिक’ बोलको गीत छायाङ्कन गरिएको बाघको सालिक पनि प्रकाश नेपालीले नै बनाउनु भएको हो । 

त्यस्तै नेपालकै अग्लो तथा लामो पुल कुश्मा–कैया छेवैमा रहेको पीसजोनमा भरेको कला, बागलुङको पीस प्यालेस होटलमा भरेको कलाले उनलाई थप उचाइमा पु¥याएको उहाँ दाबी गर्नुहुन्छ । हाल उहाँ कुश्मामा रहेका ब्लू एञ्जल रेष्टुरेण्टमा क्रंक्रिटका कला भर्न आफ्ना दिनहरु खर्चिरहेका छन् । 

“कला भनेको आत्तिएरभन्दा पनि सुझबुझका साथ गर्नुपर्ने काम हो, ठूलो काम कति आउँछन्–आउँछन्, हामीसँग जनशक्ति छैन र म एक्लैले ठूलो काम हेर्न भ्याएको छैन र धेरै अवसर गुमाएको छु ।” प्रकाश भन्नुहुन्छ, “यतिसम्मकि काममा नजाउँ अर्को गर्दिने मान्छे छैन, जाउँ बिरामी भएर उपचारमा जानुपर्ने बाध्यता छ ।” उहाँले आफू बिरामी पर्दासमेत आराम गर्न नपाएको र कामैकामले थप बिरामी हुनुपरेको यथार्थता समेत पोख्नुभयो । उहाँले भन्नुभयो, ‘तोकिएको दिनमा काम सक्याउनुपर्ने बाध्यता हुन्छ, अरु काम भए जसले पनि सहयोग गथ्र्यो, तर यो काममा सबैको हात चल्दैन र मलाई नसकी नहुने बाध्यता हुन्छ ।” 

प्रकाश अहिले पैसा कमाउनभन्दा पनि आफ्नो पहिचान स्थापित गर्न लागेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले पनि नेपालमा कलाको उचित मूल्य छैन, सरकारले कलाकारलाई संरक्षण गर्दैन, अवसर दिँदैन, तैपनि म दलित, गरीबको छोरो मोफसलबाटै भए पनि ओझेलमा परेको कलालाई बाहिर ल्याउने प्रयासमा जुटेको छु, आफ्नै माटोमा सिमेन्ट, बालुवा र गिटीसँग लडेर पहिचान खोजेको छु ,कलाको मूल्य स्थापित गराउने अभियानमा जुटेको छु ।” 

विदेशी भूमिमा छ वर्ष पसिना बगाएका प्रकाश तपाईं हामी सबैको प्रेरणाका स्रोत हुनुहुन्छ । विभिन्न कारणले ५ कक्षा पढ्दापढ्दै अध्ययन छाड्न बाध्य उनी गरीबी र विपन्नतालाई चिर्दै सबैलाई मन्त्रमुग्ध पार्ने कला सिर्जना गरिरहनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!