दोलखामा ९५ वर्षीया महिलामाथि कुटपिट गरी लुटपाट

Posted on: 13 Jun, 2022

जेठ ३०, दोलखा |  दोलखाको बैत्यश्वर गाउँपालिका–७ माझीबस्तीमा बस्दै आएकी एक वृद्धामाथि कुटपिट गरी लुटपाट भएको छ । बस्तीकी ९५ वर्षीया असुली तामाङमाथि कुटपिट गरेर लुटपाट भएको हो ।

सोमबार मध्याह्न २ जना अज्ञात व्यक्तिले घरको पिँढीमा बसिरहेकी तामाङलाई कुटपिट गरेर उनले लगाएका सुनका गहना लुटपाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कानमा लगाएका गहना लुटेराहरूले जबर्जस्ती तान्ने क्रममा वृद्धाका कानका लोती चुँडिएको पीडित वृद्धाले बताएकी छन् । यस्तै तामाङले गलामा लगाएको तिलहरी समेत ती व्यक्तिले लुटेका छन् । लुटपाट भएको देखेपछि तामाङकी नातिनीले हारगुहार गरेपछि लुटेराहरु भागेका थिए ।

लुटेराले तामाङले कान र गलामा लगाएको करिब २ तोला सुनका गहना लुटिएको प्रहरीले बताएको छ । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!