मलेसियाका राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता, मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्नुहुने

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ | मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गर्नुभएको नेपाली दूतावासले जनाएको छ ।


सो अवसरमा उहाँहरुबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा सङ्ख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचार विमर्श भएको थियो ।

नेपाली श्रमिक शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो ।

उहाँहरूले द्विपक्षीय, क्षेत्रीय तथा वहुपक्षीयस्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्न एकअर्कालाई सहयोग गर्दै अघि बढ्नेबारेमा छलफल गर्नुभएको थियो ।

गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उहाँको नेतृत्व हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको थियो । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्नुहुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!