जापानमा जनवरी तेस्रो सातामै ५ जना नेपालीको मृत्यु

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको निधन भएको हो ।

उनी जापानमा गुल्मीबाट तीन वर्षअघि आएका थिए । यहीँ जनवरी १७ तारिकबाट सम्पर्कविहिन भएका उनी आइतबार मृत फेला परेका थिए । उनका साथीहरूका अनुसार उनले आत्महत्या गरेका हुन् ।

उनले गत वर्ष ओसोजमा नेपाल गएर विवाह समेत गरेको बुझिएको छ । केहीँ समयदेखि जीवन र परिवारका बारेमा दिक्कदारी बताउँदै आएका उनले के कारणले यस्तो अप्रिय निर्णय गरे भन्नेबारे कुनै कारण खुलेको छैन ।

उनको मृत शवलाई जापान प्रहरीले लिएको छ । परीक्षण पश्चात् जापानस्थित नेपाली राजदूतबासमार्फत शव नेपाल पठाइने उनी अध्ययनरत विद्यालयले जानकारी दिएको छ ।

जापानमा जनवरी तेस्रो साता नबित्दै पाँच जनाको निधन भएको हो। २०२३ को पहिलो महिनाको तेश्रो साताभित्रै पाँच जना नेपालीको मृत्यु भएको हो ।

जनवरी २०२३ को पहिलो दिन नै एक नेपाली युवाको टोकियोमा मृत्यु भएको थियो । त्यस पश्चात् जनवरी १५ तारिख, गिफुमा उपचार गराइरहेका अर्का एक नेपालीको उपचारकै क्रममा निधन भएको थियो ।

त्यसै गरि टोकियो बस्दै आएका रुपन्देहीका अर्का एक युवाको पनि मृत्यु भएको थियो । यद्यपि उनको बारेमा भने कुनै जानकारी सार्वजनिक गरिएन । त्यसपछि २१ तारिख शनिबार कावासाकीमा अर्का नेपालीको पनि उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!