दक्षिण अफ्रिकामा नेपालीलाई अलपत्र पार्ने क्रम बढेपछि दूतावासले जारी गर्‍यो ट्राभल एडभाइजरी

Posted on: 06 Jan, 2023

पुस २२, काठमाडौँ | युरोप र अमेरिकामा आकर्षक तलबसहित जागिर लगाइदिने भन्दै दक्षिण अफ्रिकामै अलपत्र पार्ने क्रम बढेपछि दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली दूतावासले झुटो प्रलोभनमा नपरी आधिकारिक च्यानलबाट मात्रै वैदेशिक रोजगारीमा जान आह्वान गरेको छ । प्रिटोरियास्थित दूतावासले आज ट्राभल एडभाइजरी जारी गर्दै उक्त आह्वान गरेको हो ।

दूतावासका अनुसार दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने र दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकाका देशहरुमा लगिदिने भनेर नेपाली नागरिकहरुबाट लाखौं रुपियाँ लिई ठगी गर्ने क्रम बढेको छ । साथै भारतका नयाँ दिल्ली र मुम्बई शहरका साथै संयुक्त अरब इमिरेट्स, कतार, तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवाण्डा, कङ्गो लगायतका अफ्रिकी मुलुकहरु हुँदै निकै कठिन, जोखिमपूर्ण तवरले दक्षिण अफ्रिकामा ल्याई अलपत्र पार्ने गरिएको छ ।


दूतावासले भनेको छ, ‘वैदेशिक रोजगारमा लगाईदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै ब्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानून अनुरुप निषेध गरिएका कार्यहरुमा संलग्न हुने कार्य कानून बमोजिम दण्डनीय भएकाले यसखाले गैरकानूनी कार्यहरु नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा दूतावास अनुरोध गर्दछ ।’

कुनै पनि मुलुक जानको लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएको पनि दूतावासले स्पष्ट पारेको छ ।

भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको र सो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाइने पनि दूतावासले जनाएको छ ।

दक्षिण अफ्रिका आउन लागेका नेपालीहरुलाई देहायका कुराहरुमा उचित ध्यान दिन र सावधानी अपनाउन पनि दूतावासले भनेको छ–

१.दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगष्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानूनी ब्यवस्था रहेको र त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा यहाँ आउँदा नेपाल सरकारको प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र आउनु पर्नेछ । उक्त पदहरुको सूची  http://www.dha.gov.za/images/PDFs/47182-2-8-CriticalSkillsDHA.pdf लिंकमा उपलब्ध रहेको छ ।

२.भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको हुँदा सो भिसाका आधारमा यहाँ रोजगारीजन्य काममा संलग्न हुन पाइने छैन । पर्यटक भिसामा आई कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य गैरकानूनी भएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानून बमोजिम दण्ड, जरिवाना गराई देश निकाला गर्नेछ ।

३. कुनै पनि मुलुक जानको लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले भिसा सम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती मुलुकहरु हेर्ने विदेशस्थित नेपाली नियोगहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन उपयुक्त हुनेछ ।

४.उल्लिखित विषयहरु लगायतका सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको ईमेल [email protected] वा  ह्वाट्सएप सहितको हटलाइन नम्बर (0027765093941) मा सम्पर्क गर्न सकिनेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!