शून्य लगानीमा ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गए

Posted on: 02 Jan, 2023

पुस १८, काठमाडौँ | शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् ।  

साउनदेखि मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना नेपाली शून्य लागतमा मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै १० प्रतिशत सेवा शुल्क बुझाएर १ लाख ५५ हजार ३१८ जना मलेसिया गएको विभागको तथ्यांकले देखाएको छ । 


सरकारले मलेसिया, साउदी, यूएई लगायतका मुलुकमा शून्य लागतमा कामदार पठाउने नीति लिएको छ । तर, उक्त नीति मलेसियाबाहेक अन्य मुलुकमा भने कार्यान्वयनमा आउन सकेको छैन ।  मेनपावर व्यवसायीहरूले मनलाग्दी शुल्क लिने र श्रमिकहरूलाई शून्य लागतमा पैसा लिएको भन्न लगाउने गरेका छन् । जसले गर्दा सरकारले उक्त नीतिको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन । 

विभागले नीति कार्यान्वयनका लागि सक्रिय भएर काम गर्दै आएको जनाएको छ । कामदारहरूबाट उजुरी नआउँदा बढी पैसा लिएर पठाउनेलाई कारबाही गर्न समस्या भएको विभागले जनाएको छ । शून्य लागत र १० प्रतिशत सेवा शुल्क लिएर बाहेक बढी पैसा तिरेको भए विभागमा उजुरी गर्नुपर्ने हुन्छ । त्यही उजुरीको आधारमा विभागले कारवाही प्रक्रिया अगाडि बढाउने विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।  

आर्थिक वर्ष २०७९८० को मंसिर मसान्तसम्ममा विभिन्न ७ मुलुकहरू बहराईन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया र यूएईमा ३ लाख ४९ हजार ८२ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।  जसमा २ लाख ८९ हजार ७२ जना पुरूष र २४ हजार २२ जना महिला रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!