पूर्व प्रधानमन्त्री खनाल २५ सय मतले पछि‚ हार निश्चित

Posted on: 27 Nov, 2022

मङ्सिर ११, काठमाडौँ । इलाम-१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनाल २५ सय मतले पछि परेका छन्।

दुई हजार ६४४ मत गणना बाँकी रहँदा खनाल नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतभन्दा दुई हजार ५०३ मतले पछि परेका हुन्।


निर्वाचन अधिकृतको कार्यालयका अनुसार‚ बस्नेतले २४ हजार ३०४ मत र खनालले २१ हजार ८०२ मत प्राप्त गरेका छन्। यस्तै‚ मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे दुई हजार २५४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

एक लाख नौ हजार ५३५ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १३६ जनाले मतदान गरेका थिए। अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ।

खनाल यसअघि एमालेबाट २०४८‚ २०५१, २०६४‚ २०७० र २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०५६ सालमा भने नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!