कतार विश्वकप : नेपाली दूतावास खुल्ने समय परिवर्तन, नियमित काम स्थगित गरेर सहयोग गर्न आग्रह

Posted on: 15 Nov, 2022

कात्तिक २९, काठमाडौँ | एसिया क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको कतार विश्वकप फुटबल आउन अब ५ दिन बाँकी छ । विश्वकपलाई नेपालले समेत विशेष महत्त्वका साथ हेरेको छ । 

त्यसमा झन् लाखौं नेपालीको रगत र पसिनाले कतारका रंगशाला बनेका छन् । त्यसले गर्दा पनि कतार विश्वकप नेपालीले बढी रोचक तरिकाले हेरेका छन् । कतारस्थित नेपाली दूतावासले सहयोगको लागि अपिल गरेको छ । नेपाली राजदूत डा. नरेश बिक्री ढकालले कतारमा रहेका नेपाली समुदाय तथा संघसंस्थालाई आफ्ना नियमित काम स्थगित गरेर सहयोग गर्न अनुरोध गरेका छन् । विश्वकपका कारण विश्वको ध्यान नै कतारतर्फ केन्द्रित छ । 

विश्वकपलाई मध्यनजर गर्दै नेपाली दूतावास खुल्ने समय पनि परिवर्तन गरिएको छ । कतारको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार दूतावास खुला रहने समय परिवर्तन गरिएको नेपाली दूतावासले जनाएको छ । कात्तिक २७ गतेदेखि पुष ४ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ला रहने दूतावासले जनाएको छ । 

त्योबीचमा अत्यावश्यक तथा जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासमा दिउँसो २ बजेसम्म फोन गर्न सकिने दूतावासले जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि दूतावासमा ४४६७५६८१ तथा ४४६७५६८३ नम्बरमा फोन गर्न सकिनेछ । पुस ५ गतेदेखि भने पुरानै समय अनुसार दूतावास खुल्नेछ ।

त्यसैले कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले पनि सम्पादन गर्नुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता, कर्तव्यपरायणता र उच्चमर्यादासहित विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्न सबैमा अनुरोध गरेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!