एक महिनापछि खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरू

Posted on: 15 Sep, 2022

भदौ ३०, काठमाडौँ | भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो ।


रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मैनालीले चीनले आजदेखि सामान छाड्न लागेको जानकारी दिए । उनले भने, ‘चीनले आजदेखि रसुवागढी नाकाबाट सामानहरू छाड्दैछ । तर, के–के आउँदैछ भनेर हामीलाई जानकारी छैन ।’ आज नाकाबाट १० वटा कन्टेनर नेपाल भित्रिन सक्ने मैनालीले बताए ।

यस्तै, तातोपानी भन्सार नाकाबाट भने यही साताको शनिबारदेखि नै आंशिकरूपमा सामान भित्रिन थालेको थियो । शनिबार यता अहिलेसम्म १५ वटा कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयका पूर्व प्रमुख नारद गौतमले बताए ।

नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन सुरू गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!