श्रममन्त्री कुँवरले सुने कल सेन्टरबाट श्रमिकहरुको गुनासो

Posted on: 21 Aug, 2022

भदौ ५, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन् । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन् । 


मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश र विदेशमा रहेका श्रमिकहरूसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताए । मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारवाही गर्ने बताए । उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने आश्वासन दिए ।

मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौंभन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताए । उनले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गरे । मन्त्री कुँवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताए ।

उनले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताए । उनले धेरै श्रमिकका उजुरीहरू सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरू रहेको बताए । उनले त्यो जटिलता समाधान गर्नका लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताए । मन्त्री कुँवरले श्रमिकहरुलाई बुझ्दै नबुझि विदेश नजान पनि आग्रह गरे । 

त्यस्तै,मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!