मधेशी एकता समाजले युएईमा अलपत्र परेका मण्डलको उद्धार गरी नेपाल ल्यायो

Posted on: 21 Aug, 2022

भदौ ५, काठमाडौं | भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललित कुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल ल्याएको छ । 


आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज युएईका उपाध्यक्ष कृष्ण ठाकुरले मण्डललाई १ भदौ बुधबार स्वदेश ल्याएको हो । 

एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गत जनवरीमा दुबई लगेका थिए । तर, नेपाली एजेण्टको दुबईमा रहेको बंगाली एजेण्टले त्यहाँको कम्पनीमा भिषा नलगाइकनै काम लगाइदिएका थिए ।

त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डलले गत जुलाईको अन्त्यदेखि काम छाडेर अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए ।

एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी गराएका थिए । त्यसपछि समाजका युएई उपाध्यक्ष कृष्णकुमार ठाकुरले मण्डललाई उद्धार गरेर करिब दुई हप्ता आफूसँग राखेका थिए । 

आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी १ भदौ बुधबार इन्डिगो एयरलाइन्सबाट मण्डललाई उनले नेपाल फिर्ता पठाए । स्वदेश फर्किनेक्रममा अबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गरे ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!