साउदी अरबमा १६ जना नेपाली बाटोमै अलपत्र

Posted on: 15 Aug, 2022

साउन ३०, काठमाडौँ | करिब ९ महिनाअघि आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना नेपाली कम्पनीले कोठाबाट निकालेपछि भोक भोकै सडकमै दिनरात बिताउन बाध्य भएका छन् ।


काठमाडौँमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबमा रहेको युनियन कनट्र्याक्ट नामको कम्पनीमा पठाएको र म्यानपावरले सम्झौता गरे अनुसारको काम र तलब नपाएपछि अलपत्र परेको पीडितहरूले बताएका छन् ।

‘म्यानपावरले सम्झौता गरे बमोजिम काम र तलब नपाएपछि हामी विगत ९ महिनादेखि अलपत्र अवस्थामा छौ ,’  पीडित मोहन कुमार चौधरीले भने, ‘सुरुको दुई/तीन महिना काम पनि गरेका थियौ, त्यसपछि हामीले काम पाएका छैनौ म्यानपावर कम्पनी आज हुन्छ, भोलि हुन्छ भनेर झुक्क्याउने काम मात्र गरेको छ ।’

आफूहरूको समस्या लिएर रियादस्थित नेपाली दूतावासको शरणमा पुग्दा पनि कुनै सुनवाइ नभएको पीडितहरूले बताएका छन् ।

८० जनाको ग्रुपमध्ये ६४ जनालाई म्यानपावरले उद्धार गरी नेपाल फर्काएको तर आफूहरूलाई सौतेनी आमाको जस्तो व्यवहार भएको उनीहरू बताउँछन्। चाँडो उद्धारको माग गर्दा म्यानपावरले अझै ६ महिना साउदीमै राख्छु भन्ने धम्की दिएको पीडितहरूको भनाइ छ ।

उनीहरूलाई साउदी प्रहरीले भेटेर समस्याबारे जानकारी लिएको र कम्पनीको मालिकलाई सम्पर्क गरी बस्ने व्यवस्था मिलाउन भनेको छ तर कम्पनी प्रशासनले कुनै चासो नदिएको उनीहरूले बताए ।

लामो समयदेखि कामविहीन भएर बस्नुपर्दा खानाको लागिसमेत पैसा नभएकोले भोकै बस्नु परेको उनीहरूले दुखेसो पोखे । आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल भएको छैन । साउदीमै रहेका एजेन्ट वीरेन्द्र राई पनि समस्या समाधान गर्नुको सट्टा तिमीहरूले जे गर्छौ गर भनेर धम्की दिने गरेको उनीहरूले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!