नेपाललाई मोंग्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गर्न बंगलादेशकी प्रधानमन्त्री हसिनाकाे प्रस्ताव

Posted on: 06 Aug, 2022

एजेन्सी | बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई सैयदपुर विमानस्थलसँगै मोंग्ला र चट्टोग्राम बन्दरगाहलाई आपसी फाइदाका लागि प्रयोग गर्न पुनः प्रस्ताव गरेकी छिन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास गणभवनमा बंगलादेश भ्रमणमा रहेकाे संसदीय प्रतिनिधिमण्डलसँगकाे भेटवार्तामा उनले यस्ताे प्रस्ताव राखेकी हुन्।

उनले भनिन्, ‘हाम्रो मोंग्ला र चित्तगाे‌ंग बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ ।


नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी अध्यक्ष पवित्रा निरौला खरेलले गरेकी थिइन्।

बंगलादेशको सैयदपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भनिन्, ‘नेपाललगायत छिमेकी मुलुकले विमानस्थल प्रयोग गर्न सक्छन्।’

भेटवार्तामा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी हितका लागि व्यापार तथा व्यापारमा द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन इच्छुक रहेको बताएका थिए।

सन् १९७१ को मुक्ति संग्राममा बंगलादेशलाई सहयोग गरेकोमा नेपाली नेतृत्व र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री शेख हसिनाले आफ्नो सरकारले नेपाललगायत छिमेकी मुलुकसँगको सुमधुर सम्बन्धलाई उच्च महत्त्व दिएको बताइन्।

प्रतिनिधिमण्डलले धानमण्डीस्थित बंगबन्धु स्मृति संग्रहालय र बंगलादेशको संसदको भ्रमण गरेको र बहुचर्चित पद्म पुल हुँदै टुङ्गीपारा गएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरिन्।

नेपाली प्रतिनिधिमण्डलले आफ्ना लागि उत्कृष्ट कार्यक्रमको आयोजना गरेकोमा बंगलादेश सरकारलाई धन्यवाद दिएकाे थियाे।

प्रतिनिधिमण्डलका सदस्यहरूले नेपाल र बंगलादेशबीच वर्षौँदेखि सुमधुर सम्बन्ध रहँदै आएकोमा ठूलो सन्तुष्टि व्यक्त गरेका थिए।

उनीहरुले कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष मनाउनका लागि यो वर्ष दुवै देशका लागि निकै महत्त्वपूर्ण रहेको पनि बताए।

नेपाली प्रतिनिधिमण्डलमा सांसद चन्दतारा कुमारी, सांसद डा. दीपकप्रकाश भट्ट, सांसद देवप्रसाद तिमिलसेना, सांसद लीलादेवी सिटौला, सांसद नारदमुनि राणा र सांसद सरलाकुमारी यादव सहभागी थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!