साउदीमा अर्धचेत अवस्थामा रहेका रामबहादुर तामाङलाई नेपाल पठाइयो

Posted on: 28 Jul, 2022

साउन १२, रियाद | साउदी अरबमा अर्धचेत अवस्थामा रहेका नेपाली नागरिक राम बहादुर तामाङलाई नेपाल पठाइएको छ । रियादस्थित नेपाली दूतावासको पहलमा उनलाई नेपाल पठाइएको हो । 

गत जनवरी २०२२ मा साउदी अरबको अल कासिम क्षेत्रमा सडक दुर्घटना परी तामाङ गम्भिर घाइते भएका थिए । उनको हायलस्थित साउदी–जर्मन अस्पतालमा उपचार भइरहेको थियो । 

काभ्रे जिल्ला रोशी गाउँपलिका–४ स्थायी ठेगाना भएका तामाङलाई नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । 

‘अस्पतालमा उहाँको उपचार खर्च स्वास्थ्य वीमाले कभर गर्ने सीमा भन्दा २ लाख ५० हजार साउदी रियाल बढी भैसकेको थियो । वीमाले कभर गर्ने सीमा भन्दा माथिको उपचार खर्च तिर्न कम्पनी तयार थिएन । एकातिर बिरामीको अवस्था गम्भिर नै थियो । बिरामीको अन्य अंगहरूले राम्ररी काम गरिरहेको भएता पनि दुर्घटनाका कारण टाउकोमा लागेको गहिरो चोटले गर्दा उनमा पूर्ण होस आएको थिएन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा तामाङका विषयमा भनिएको छ । 

उपचार बापत अस्पतालमा तिर्न बाँकी रहेको २ लाख ५० हजार साउदी रियाल अस्पतालले मिनाह गरिदिएको दूतावासले जनाएको छ । 

अस्पतालले विरामीलाई उनको परिवारको साथमा राखेर आवश्यक हेरचाह गर्दा उनीमा छिटो होस आउनसक्ने हुँदा जतिसक्दो चाँडो नेपाल लैजान सुझाव दिएपछि उनलाई नेपाल पठाइएको दूतावासले जनाएको छ । 

तामाङलाई स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जानकारी दूतावासले दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!