बेलायतको स्थानीय चुनावमामा पाँच गैरआवासीय नेपाली विजयी

Posted on: 09 May, 2022

वैशाख २६, लण्डन | बेलायतमा हालै सम्पन्‍न स्थानीय निर्वाचनमा त्यहाँस्थित गैरआवासीय नेपाली उम्मेदवार पनि विजयी भएका छन् ।

सार्वजनिक नतिजा अनुसार पाँच जना गैरआवासीय नेपाली उम्मेदवार विजयी भएका हुन् । विभिन्‍न स्थानीय काउन्सिलबाट १० गैरआवासीय नेपाली उम्मेदवार बनेका थिए ।

निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका हुन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।

निर्वाचितमध्ये तीन जना विपक्षी दल लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन् ।

निर्वाचित हुनेमध्ये लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भए । लेबर पार्टीबाट उम्मेदवार गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।    

लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।

बेलायतको रोयल बरोबाट पहिलो पटक गैरआवासीय नेपाली उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन्।

रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन् ।

इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन् ।

कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए । उनले ५ सय ५१ मत प्राप्त गरेका थिए ।  

कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए ।  

लन्डनकै बार्नेट काउन्सिलको बन्टोक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन् ।

लेबर पार्टीका उम्मेदवार उनले २ हजार सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे । सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए ।  

 स्थानीय चुनावमा सत्तारुढ दल कन्जरभेटिभले अघिल्लो चुनावभन्दा कम सिटमा विजयी हासिल गरेको छ । याे निर्वाचनमा प्रमुख प्रतिपक्ष दल लेवरलाई सफलता मिलेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!