२०२३ को अक्टोबर ११ मा विश्व सम्मेलन गर्ने एनआरएनएको निर्णय भएको छ :-

Posted on: 24 Apr, 2022

वैशाख ११, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा गर्ने निर्णय भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसीसहित  १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरूको उपस्थिति थियो । भर्चुअल बैठकमा ८० जना  पदाधिकारीहरुले आआफ्नो भनाइ राखेको एनआरएनएले जनाएको छ । 

बैठकले युके, अमेरिका, जापान र युएई समन्वय राष्ट्रिय समन्वय समितिमा रहेको समस्या समाधान ३० अप्रीलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरूलाई आग्रह गरेको छ । यस्तै  बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि  युवा उपाध्यक्षहरूको समन्वयमा  सबै  पक्षलाई सहभागी गराउनको गर्ने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिए । 

यस्तै बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाँकी  राष्ट्रिय समन्वय समिति  अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुझाउन बाँकी पदाधिकारीहरूलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुझाउन  आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नतिरेमा विधान अनुरुप टुंगो लगाउने   बैठकले निर्णय गरेको छ ।

बैठकले विधान अनुरुप गठन हुने  क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरूसँग समन्वय गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा हेम राज शर्माको संयोजकत्वमा गठित समितिलाई  जिम्मेवारी प्रदान गरेको छ  । 

बैठकले स्मार्ट एनआरएन  कमिटीको संयोजकको जिम्मेवारी  महासचिव डा केशव पौडेललाई दिने निर्णय गरेको  छ। बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहकार समिति, संरक्षक परिषद गठन लगायतको विषयमा अगामी आइसीसी बैठकमा एजेण्डाको रुपमा पेश गर्ने सुझाव दिएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!