बेलायतमा नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गरिने

Posted on: 24 Apr, 2022

 वैशाख ११, बेलायत | बेलायतमा बस्दै आएका नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गर्ने भएका छन् । करिब डेढ दशक अघिदेखि  बेलायतका नेपालीबीच बास्केटबल प्रतियोगिता हुने गरेको भएपनि लिगको सुरुवात गरिएको यो पहिलोपल्ट हो । शुक्रबार साँझ पत्रकार सम्मेलन गरि अप्रिल २४ बाट लिग सुरु गरिने नेपाल बास्केटबल यूकेले जनाएको छ ।

आगामी १४ अगष्टसम्म चल्ने १६ हप्ता लामो उक्त लिगमा ८ वटा नेपाली टिम रहने नेपाल बास्केटबल यूकेका सचिव एवं पिआर भुवन लिम्बुले जानकारी दिए । बेलायतमा एक दशक बढी वित्तीय क्षेत्रमा आवद्ध संस्था ‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ ले  लिगको प्रायोजन गरेको हो ।

बेलायतका विभिन्न स्थानहरु लन्डनको फेल्थम, बेजिङस्टोक, जिलिङहम र आसफोर्ड केन्ट लगायतमा लिग संचालन गरिने र विजेतालाई नगद पुरस्कारका साथै ट्रफी तथा शिल्ड प्रदान गरिनेछ ।  बास्केटबलको माध्यमबाट यूके र नेपालका नेपालीलाई जोड्ने उद्देश्य रहेको उनले बताए ।

गलत बाटोमा लागेका युवाहरुलाई पनि बास्केटबलको माध्यमबाट सहि बाटोमा ल्याएको लिम्बुले दावी  गरे । महिलाहरुले पनि चासो देखाएको हुँदा बास्केटबलमा महिलालाइसमेत समेट्ने नेपाल बास्केटबल यूकेले जनाएको छ।

बेलायतमा रहेका सिनियर कम्युनिटी र युवा जेनेरेसनबीचमा ठूलो अन्तर रहेको हुँदा यस किसिमको अन्तरलाई समानान्तर रुपमा अघि बढाउन बास्केटबल माध्यम बन्न सक्ने नेपाल बास्केटबल यूके अध्यक्ष रुपक गुरुङले बताए । नेपाल र बेलायतका खेलाडीबीच सम्बन्ध विस्तार, दुई देशमा विभिन्न इभेन्ट र प्रशिक्षण तथा लिग एवं टुर्नामेन्टलाई नियमित गर्दै जाने गुरुंगले बताए  । उनी नेपालका पूर्व बास्केटबल खेलाडी समेत हुन् ।

ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रवन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले नेपाली युवालाई प्लेटफर्म सृजना गरि बास्केटबलमार्फत उनीहरुलाई कुलतमा लाग्न रोक्ने आयोजकको उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए । युवाहरुलाई प्रोत्साहन गर्ने कार्यमा ए स्टारले निरन्तर सहयोग पुर्याउदै आएको दर्लामीले बताए ।

यसैगरी लन्डन बरो अफ हंस्लो मेयर विष्णु बहादुर गुरुङले खेलाडीहरुलाई शुभकामना दिंदै सक्रिय रुपमा अघि बढ्न सुझाव दिए । खेललाई निरन्तरता दिन आर्थिक पाटो निकै महत्वपूर्ण भएकाले बेलायत सरकारबाट प्राप्त गर्न सकिने सहयोग र प्रक्रियाको बारेमा गुरुंगले जानकारी दिए ।

बेलायतमा आयोजना हुने कतिपय खेलहरु जाती र वर्गसँग सम्बन्धित भएकाले सबै नेपालीलाई समेट्न नसकेको भन्दै सबै नेपालीको साझा भएर अगाडी बढ्न उनले सुझाव दिए।  

मेयर गुरुङले काउन्सिल, प्रहरी र अन्य निजी संस्थाबाट समेत खेल गतिविधिका लागि आर्थिक सहयोग मिल्ने भएकाले युवा लक्षित कार्यक्रम गर्न पनि सुझाए ।

कार्यक्रममा नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले खेलाडीहरुलाई प्रोत्साहन दिँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । निश्चित लक्ष्य लिएर अघि बढे सफलता हात पर्ने बताउँदै सुरुका दिनमा निकै संघर्ष गर्नुपर्ने क्षेत्रीले बताए । कार्यक्रममा ए स्टार फाइनान्सियल सोलुसन्स्का सदस्य तथा नेपाल बास्केटबल यूके पदाधिकारी सहभागी थिए ।

बेलायतको नेपाली समुदायबीच बास्केटबल खेल व्यवस्थित र थप व्यवसायिक बनाउन युवाहरुले संगठनको गठन गरेका हुन् । संस्थाले दीर्घकालीन लक्ष्यमा बास्केटबल इंग्ल्याण्डसँग आवद्धता, बेलायतबाट नेपाल प्रतियोगितामा सहभागिता र नेपालका खेलाडीलाई बेलायतमा अवसर एवं कोचिङ प्रदान गर्ने लक्ष्य राखेको छ । संस्थाको बोर्ड मेम्बरमा रुपक गुरुङ अध्यक्ष, संजय गुरुङ उपाध्यक्ष, भुवन लिम्बु सचिव, विप्लब पौडेल कोषाध्यक्ष र सोसियल मिडियामा दिवस राई रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!