विदेशमा रहेका ८८ प्रतिशत नेपालीले कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाए

Posted on: 07 Jan, 2022

पुस २३, काठमाडौँ | नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, न्यूजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरियालगायतमा रहेका नेपालीले खोप लिएका छन् ।

तर भारत, बंगलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले खोपको पूर्ण मात्रा लगाएका छन् । न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशतभन्दा कमले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो मात्रा लगाउन थालेका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशतभन्दा बढी नेपालीले बुस्टर लिएको संयोजक डा. सापकोटाले बताए ।

स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपालबाहिर रहेका नेपालीको खोप लिने दर उच्च छ । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् । हाल विश्वको कूल जनसंख्याको ५१ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको तथ्यांक छ । 

कोरोना महामारी सुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्बन्धमा जनचेतनाका कार्यक्रम गर्दै आएको छ ।

संघको स्वास्थ्य समिति अन्तर्गत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत २ सयभन्दा बढी चिकित्सकले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!