एनआरएनए निर्वाचनः उम्मेदवारी घोषणा

Posted on: 29 Aug, 2021

भदौ १३, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।

आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।

उहाँ नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनुभएको थियो । उहाँले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने राससलाई जानकारीदिनुभयो  । 

धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उहाँ २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आउनुभएको छ । सन् २००७ देखि एनआरएनएमा आवद्ध उहाँले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), सङ्घको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवद्र्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ युकेको सल्लाहकार (सन् २०१७) रहिसक्नुभएका उहाँ त्यसअघि गैरआवासीय नेपाली सङ्घ युके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ युके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा हुनुहुन्थ्यो । त्यस्तै उहाँ सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहनुभएको थियो । एनआरएनएका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उहाँको युके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरूपमा प्रतिबद्धना सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि अयरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ । सन् २००३ देखि संस्थामा आवद्ध उहाँको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसक्नुभएका उहाँले अहिले हस्तकलाको व्यवसायमा आवद्ध रहनुभएको छ ।्

आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!