खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल

Posted on: 05 May, 2021

वैशाख २२, काठमाडौँ | खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कट(ओमान)को संयोजनमा मंगलबार नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा वेबिनार सम्पन्न भएको हो । 

ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको संयोजनमा भएको उक्त वेबिनारमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, साउदीस्थित नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपूत,  कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, कतारस्थित नेपाली राजदूत डा. नारदनाथ भारद्वाज, यूएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल, मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डे, इजरायलस्थित नेपाली राजदूत डा. अञ्जान शाक्य, पाकिस्तान स्थित नेपाली राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकास्थित नेपाली राजदूत डा. निर्मलकुमार विश्वकर्मा र इजिप्टस्थित नेपाली उप-नियोग प्रमुख दिपक घिमिरे लगायतको सहभागिता रहेको थियो ।

उक्त वेबिनार छलफल कार्यक्रममा पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नुपर्ने कदममा सम्बन्धमा छलफल भएको बताइएको छ । उक्त वेविनारमा बिभिन्न देशस्थित नेपाली राजदुतहरुले आफूहरु रहेको देशमा कोरोनाको अवस्था, नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि सम्बन्धित देशले चालेको कादम र प्रभावबारे ब्रिफिङ गरेका छन् । त्यस्तै सहभागीहरूले नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न देशहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा त्यहाँ रहेका नेपाली समुदायमा पर्ने प्रभावको सम्बन्धमा पूर्व सूचना, तयारी, उद्धार तथा राहत सम्बन्धमा आ-आफ्नो कुराहरु राखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!