चितवन जिल्लामा देउसी भैलो खेल्न रोक

Posted on: 11 Nov, 2020

कात्तिक २६, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो । 

चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । 

आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो । पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ । 

सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ । निर्देशन अटेर गर्नेलाई स्थलगत कारवाही गरिने उहाँले बताउनुभयो । जुवातास, चिट्ठा खेल्नेलगायतका गतिविधिमा समेत निगरानी राखिएको उहाँले जानकारी दिनुभयो । कोरोनाको जोखिम बढ्दो रहेकाले सबैले घरघरमा बसेर पर्व मनाउन उहाँले आग्रह गर्नुभयो । जिल्लामा हालसम्म पाँच हजार १० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये तीन हजार ३१४ जना निको भएर घर फर्किसकेका छन् भने ७६ जनाको मृत्यु भइसकेको छ । हाल एक हजार ६२१ सक्रिय सङ्क्रमित छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!