भाइटीकापछि खुलामञ्चको निःशुल्क खाना बन्द हुने, वैकल्पिक स्थान खोज्ने सहमति

Posted on: 06 Nov, 2020

कात्तिक २१, काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको छ । त्यसपछि निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने सहमति भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका र नि:शुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने ठहर दुबै पक्षले गरेका छन् । भाइटीकाको भोलिपल्टदेखि खाना खुवाउन बन्दस्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग र समन्वयमा नि:शुल्क खाना खुवाउने सहमति भएको छ ।

यसअघि खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न निर्देशन दिएको थियो । तर महानगरको निर्देशन पछि पनि कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई विभिन्न संस्थाले निःशुल्क खाना खुवाउँदै आएका छन् । 

सहमति हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!