रुकुमकोटमा हट्यो निषेधाज्ञा

Posted on: 30 Sep, 2020

असोज १४, रुकुमपूर्व । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो । 

 जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ । जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले यही असोज ७ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साताअघिदेखि रुकुमकोट बन्द गरिएको थियो । रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । 

अहिले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ राईको भनाइ छ । जिल्लावासीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको  पनि प्रशासनले निगरानी गर्ने छ । कोहीकसैले  लापरबाही गरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही गरिने प्रजिअ राईले बताउनुभयो । अहिलेसम्म जिल्लामा कुल ७४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या  ३२  छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!