जङ्गली जनावरले बालीनाली सखाप

Posted on: 05 Aug, 2020

साउन २१,  बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।”

 सुर्नया गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा लगाएको मकैबाली जङ्गली जनावरले खान थालेको छ । गाउँपालिका–७ को मालमपुर, सिजालगायतका क्षेत्रमा बँदेलले हैरान बनाएको स्थानीय दीपेन्द्र कुँवरले बताउनुभयो । फौजी किरा र फेदकटुवा किराले अन्नबाली नष्ट गरेको तथा बँदेल जङ्गली जनावरले समेत अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् । विभिन्न रोग किराबाट बचाएर पसाउन लागेको मकैबाली जङ्गली जनावरले नष्ट पार्ने गरेको स्थानीय गजबहादुर गोयलाले बताउनुभयो ।

मकैबाली जोगाउन धौधौ

बैतडीका किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि जङ्गली बँदेल, दुम्सीलगायतका जनावरले मकैबाली सखाप पारेको किसान बताउँछन् । जिल्लाको सबैजसो स्थानीय तहमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानले बताएका छन् । जङ्गली बँदेलले खेतमा लगाएको मकैबाली पूरै नष्ट गरेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताउनुभयो । 

मकैबाली जोगाउन रातभर पहरा दिए पनि जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको सुर्नया–६ का केशवदत्त अवस्थीले बताउनुभयो । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानले बर्सेनि बालीनालीमा क्षति व्यहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् । स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको किसान टेरले बताउनुभयो । बैतडीमा १४ हजार ५०० हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ ।

किसानलाई बाँदर धपाउने यन्त्र वितरण

बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ५ मा २५ यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानलाई पायक पर्ने गरेर यन्त्र वितरण गरिएको हो ।

नगरपालिकाले स्याङ्जाको जयलक्ष्मी आँधीखोला कन्स्ट्रक्शन प्रालिबाट १०० थान बाँदर धपाउने यन्त्र खरिद गरेको हो । नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिनुभयो । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेशिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ । यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजनाअन्तर्गत रु तीन लाखको लागतमा यन्त्र किनेको जनाइएको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!