४५ देखि कुवेतको सेल्टरमा रहेका नेपालीहरुद्वारा आन्दोलन

Posted on: 08 Jun, 2020

योगेन्द्र योगी | जेठ २६, दोहा | कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा आफूहरु अलपत्र परेको भन्दै आन्दोलन गरेका छन् । 

४३ दिन देखि अलपत्र अवस्थामा कुवेतको सेल्टरको क्वारेन्टाइनमा रहेक पाँच सयभन्दा बढी नेपालीहरुले मध्य आइतबार रातबाट  आन्दोलन सुरु गरेको गुल्मीका रामचन्द्र भण्डारीले जानकारी दिएका छन् । 

अलपत्र नेपालीहरुले कुवेत सरकार जिन्दाबाद नेपाली दूताबास मुर्दाबाद र केपी ओली मुर्दाबाद भन्दै नाराबाजी गरेको भण्डारीले बताए । नेपाल सरकारले बेवास्था गरेको र नेपाल सरकार सुतेको भन्दै कुवेत प्रहरीले पनि नाराबाजी गर्न छुट दिएको उनले बताए । 

लामो समय देखि सल्टरको क्वारेन्टाइनमा बसेका कारण धेरै नेपालीहरु बिरामी समेत परेको र पटक पटक नेपाल सरकारलाई उद्दार गर्न आग्रह गरेता पनि हाम्रो माग नसुनेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनले बताए । 

कुवेतको इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारका लागि नेपाल सरकारलाई गुहारी रहेको भएपनि अहिलेसम्म उनीहरुको माग सुनुवाई भएको छैन ।


वैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो । 

अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले जनाएले पनि अहिलेसम्म नेपाल सरकारले बेवास्था गरेको कारण बाध्य भएर आन्दोलन गर्नु परेको आन्दोलनमा सहभागीहरुको भनाइ रहेको छ । यस बारे कुवेतस्थित नेपाली दूताबाससंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन् सकेन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!