कतारमा १७ नेपालीलाई आममाफी

Posted on: 24 Apr, 2020

वैशाख १२, काठमाडौँ | कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । 

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन् । 

आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन् । लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक/एक नेपाली रिहा हुनेछन् । 

यसै बिषयमा कतारस्थित नेपाली दुतावासले दिएको जानकारी:

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारी (Covid-19) को अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीहरुलाई आममाफी दिनु भएको भएको घोषणा सार्वजनिक भएको छ । सो आम माफी अन्तर्गत कतारको बन्दी गृहमा रहनु भएका १७ जना नेपाली नागरिकहरु पनि रिहाई हुनु हुने भएको जानकारी सबैमा अनुरोध छ । रिहाई हुनुहुनेमा १३ जना लागू औषध कारोवारजन्य,  २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहनु भएको थियो ।

--- 

नेपाली राजदूतावास, दोहा ।

२०७७।०१।११

यस बिषयमा तपाइको प्रतिक्रिया...!