विदेशमा रहेका नेपालीलाई कोरोना प्रभाव: सरकारले वेवास्ता गरेकै हो त ?

Posted on: 07 Apr, 2020

अनिल अधिकारी | चैत २५, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन विश्वजगत यतिखेर संघर्षरत छ । यो क्रममा विभिन्न देशमा रोजगार, अध्ययन र भ्रमणको क्रममा रहेका नेपालीहरु बढी प्रभावित बनेका छन् । नेपालमा लकडाउन भएपछि कयौं  नेपालीहरु त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।   

सबैभन्दा बढी नेपाली रहेका देशहरु खाडी र मलेसियामा कयौं नेपालीहरुले सम्बन्धित देशमा बिभिन्न समस्या भोग्नुपरेको गुनाशो गरेका छन् । अमेरिकामा करिव पाँच सय नेपालीमा कोरोनाको संक्रमण भएको समाचार सार्वजनिक भएको र कोरोनाको कारण ३ लाख भन्दा बढी संक्रमित हुँदा त्यहाँ रहेका नेपाली समेत नेपाल फिर्ता हुन चाहिरहेका छन् । जति समस्या परेपनि यथास्थितिमा स्वदेश फर्कन नपाएका कारण कतिपय विदेशमा रहेका नेपालीहरुलाई आफ्नै देश परदेशजस्तै लाग्न थालेको भन्दै टिप्पणी गर्न थालेका छन् । बिभिन्न देशले नेपालमा रहेका आफ्नो नागरिक फिर्ता गराएको भन्दै समस्यामा परेका नेपालीहरुलाई समेत फिर्ता गर्न तत्परता नदेखाएको गुनाशो आईरहेका छन् ।

कोरोना भाइरसको दिनप्रतिदिनको त्रास र विश्वमा यसको फैलावटको क्रमले कयौं नेपालीहरुले स्वदेश फर्कने इच्छा प्रकट गरिरहेका बुझ्न सकिन्छ । भाइरसको संक्रमणको डर एकातिर हुँदैगर्दा अर्कोतिर आफ्नो देशमा भाइरसको संक्रमण नफैलियोस् भन्ने चिन्ता पनि उत्तिकै छ प्रवासमा रहेका नेपालीहरुलाई ।  

विदेशमा रहेका केहि युवाले सरकार आफैले उद्दार गर्न सक्दैन भने आफ्नै खर्चमा नेपाल फिर्ता हुन चाहेको र सरकारले तोकेको समयसम्म आफ्नै खर्चमा क्वारेन्टाइनमा समेत बस्न इच्छा प्रकट गरेका छन् । उनीहरुको इच्छामा अभिभावकहरुको समेत एक्यबद्धता छ । विदेशमा रहेकाहरुको आफन्तले पैसाको भन्दा आफ्नो मानिसको महत्व बढी हुने भन्दै उद्दार गरिदिए सरकारको सर्त समेत पालना गर्न तयार भएको बताउँछन् । 

वर्तमान अवस्था समस्याग्रस्त छ । लाखौँ नेपालीहरु विदेशमा छन् । उद्दारको प्रयास सहज छैन । नेपालीहरु स्वदेश फर्किने सबै बाटाहरु बन्द रहेको अवस्था छ । सरकारलाई देश फर्कन दिनु भन्दा पनि उनीहरु नेपाल आएपछिको व्यवस्थापन टाउको दुखाई हुने बुझिएको छ । त्यसैले पनि नेपाल सरकारले विदेशका रहेका नेपालीलाई आफू रहेकै स्थानमै सुरक्षित रहन भनेको छ । तर सरकारले भनेजस्तो त्यहाँ बसिरहन सहज अवस्था नरहेको गुनाशाहरु आएका छन् । 

विदेशमा रहेका अधिकांशको नेपालीले आफ्नो समस्याबारे सुनाउदै तालव नपाएको र खाना खान समेत समस्या आउने स्थिति रहेको बताएका छन् भने केहिले कोरोना संक्रमणको सम्भावना र त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्, उनीहरुले यथासक्य स्वदेश फिर्ता हुन पाए विदेशको रोजगार समेत त्याग्न तयार रहेको बताएका छन् । 

खाडी मुलुकमा रहेका कयौं कामदारहरु भिसा सकिएर नेपाल आउने तयारीमा रहेका र विदा समेत लिएर नेपाल फर्कन चाहेकाहरुलाई मुख्य समस्या अहिले देखिएको छ । पहिलेदेखिनै निर्धारित रुपमा नेपाल फर्कने तयारीमा रहेकाहरुलाई यथासक्य स्वदेश फर्कन पाए हुने भन्ने छ भने कोरोनाको जोखिमकै वीच काममा जानु पर्दा सम्भावित संक्रमणको जोखिमले डराईरहेका पनि छन् । केहि देशले अवस्थालाई बुझेर भिषाको म्याद सकिएको अवस्थामा समेत नविकरण गरिदिने भनेपनि कतिपयले आफ्नै खर्चमा विदेशमा बस्नुपरेको कारण पनि समस्या हुने देखेका छन् । नेपालमा समेत लकडाउन हुँदा उनिहरुको परिवारले नेपालबाटै पैसा पठाएर भएपनि तत्कालिन समस्या समाधान गर्ने अवस्था समेत नभएको गुनाशोहरु आएको छ । 


विदेशमा रहेका केहि नेपालीहरुको प्रतिनिधि समस्या: 

कयौं नेपालीहरु समस्यामा छन्, यस विषयमा उनीहरुको अवस्थाबारे जानकारी लिन खोज्दा कतिपयले 'समस्या मात्र भनेर के गर्ने, नेपाल सरकारले हामीलाई आफ्नो मानेको छ र ? कसले सुन्ने हाम्रो समस्या ?' भन्दै आक्रोश पोखेका छन् । केहिले भने आफू रहेको देशको दुतावासले आफूहरुको समस्याबारे जानकारी हुँदा-हुँदै पनि समाधान नगरेको भन्दै दुतावासप्रति आक्रोश पोखेका छन् । 

यसै बिषयमा साझा सबालले विदेशमा रहेका केहि युवाहरुको प्रतिनिधि गुनाशाहरु प्राप्त गरेको छ:

गुनाशो १:

कतारमा रहेका एक युवाले आफ्नो गुनाशो हामीलाई इमेल मार्फत पठाएका छन् 'मैले धेरैपटक राजदुतावासमा सम्पर्क गरें, मसङ्ग ३/४ जना नेपाली साथी छन् । मेरो समस्या म इलिगल भएको छु, म आफैले गरेर होइन, यहाँका कम्पनी र दलालले कतार आइडी नबनाइदिएर हो । तलब पनि दिएन, साहु छैन भन्छ । दिमाग लगाएर अरुनै कम्पनीको नाममा भिसा लगाएर तलब नदिएको होकि के हो, बुझ्नै गाह्गारो भयो । सोही कम्पनीमा भिसा लगाएर तलब नदिएको भए हामी कानुनी रुपमा जान सक्ने थियौं । हामी सबैको अवस्था नाजुक छ । राजदुतावासको जवाफ प्रत्येक पटक हामी केही गर्न सक्दैनौ, बच्नुस र आफ्नो साथी-भाईहरुसङ्ग सहयोग माग्नुस, हामी आफै बच्न गाह्रो छ, जस्ता कुराहरु गर्छन् । मेरा साथीहरु यस्ता छन्, भोकै बस्छन् तर केही भन्न नसक्ने छन् । अप्रील १ देखि बसेको रुमको पनि भाडा तिरेको सकिन्छ । त्यसपछि हामी कता जाने ? साहुले म आफैसङ्ग छैन, मनै अरुसंग मागेर खाइराखेको छु भन्छ । इन्डियन साहु हो, हामी एक रेस्टुरेन्टमा काम गर्छौ। इल्लिगल बनाइदिएको छ, सबैलाई त्यहि भएर नेपाल जान खोज्दा पनि घर जान पाइएन । नेपाल सरकारको बिश्वास गुमेको छ । हामीलाई निकै असहज भएको छ ।'

गुनाशो २:

युएईमा रहेका एक युवाले आफ्नो समस्या पोखेका छन् 'मार्च १० देखि नेपाल फर्कने आशामा छु, कम्पनीले तलब समेत होल्ड गरेको छ, खान पनि अब केहि छैन, बस्नको लागि भाडा तिर्ने पैसा पनि छैन । अबत फ्लाइट टिकट पनि निकै महँगो हुन्छ कसरी र कहिले नेपाल जान पाउने हो भन्ने सोच्नै सकेको छैन ।' 

गुनाशो ३:

मकाउमा रहेका एक नेपालीले गुनाशो गरेका छन् 'म अहिले मकाउमा छु, यहाँ मेरो भिषा मार्च ३१ देखि सकिएको छ । यहाँको सरकारले कोरोनाकै प्रभावको कारण अप्रिल १५ सम्म स्टे भिषा हानिदिएको छ । दु:ख-सुख यहाँ बसिरहेको छु, नेपाल कहिले जान पाउने हो, भनिदिनुहोला ।'

गुनाशो ४:

वैदेशिक रोजगारमै रहेका अर्का एक नेपालीले आफ्नो गुनाशो पोखेका छन् 'दुई महिना मरेर पनि सेलरी पाएको छैन, लकडाउनले गर्दा अलि-अलि भएको पैसाले पनि खाने कुरा किन्न पाईएको छैन । भिसा सकिएको ४ महिना लाग्यो, बाहिर हिड्न कुनै कागज पनि बनाईदिएको छैन । यहाँ भन्दा नराम्रो के नै होला ? दुतावासलाई कम्पनीले तलब दिएन भनेर कम्प्लेन गर्दा कुनै सहयोग गर्दैन, के गर्ने होला ?' 

गुनाशो ५:

विदेशमा रहेका विराटनगर घर भएका मनिष आचार्यको गुनाशो छ '५००/१००० जनाको बसाइँ छ सामाजिक दुरी बनाएर बस्नु भनेको छ तर कुकुरको मराइ हुने भयो ।' उनले भनेका छन् 'तर्साउने गरि जब खाडीबाट खाडी सरकारले संक्रमित जनता पठाउन थाल्छ, अनि मात्र हाम्रो सरकारको आँखा खुल्नेछ । खाडीमा एउटा रूममा ५ देखि १० जना एकै घरमा २०० देखि ५०० मान्छे राखिएको छ, नेपाल सरकारले समयमै हवाइ मार्ग खुलाएर नेपाल आउन चाहना हुनेहरुलाई आउन दिनु ठिक जस्तो लागिरहेको छ । यहाँभन्दा आफ्नै घरमा सुरक्षित हुन्छौं जस्तो लग्यो ।' 

गुनाशो ६:

वैदेशिक रोजगारीको क्रममा साउदीमा रहेका अर्का युवा लिलाधर पुन मगरको गुनाशो छ 'साउदी अरेवियाको अल बाहामा छु म इक्जिट जाने भनेर बसेको १ महिना भयो खै नेपाल फिर्ता जाने आशामा बसिरहेको छु ।' 

गुनाशो ७:

वैदेशिक रोजगारीकै क्रममा रहेका अर्का एक युवा दिपेन शुब्बाले भनेका छन् 'साउदीमा छु, गत २ बर्षदेखि कम्पनीले अकमा नविकरण नगरी काममा लगाएको छ । दुतावासले आउट पास खोलेको थियो, आवेदन दिएको थिएँ, दुतावासले काम हुन्छ मात्र भन्छ गरेको छैन ।'

गुनाशो ८: 

वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका कविन योन्जनको गुनाशो छ 'हाल आवुधावीमा छु, एक सातादेखि काम गर्न गएको छैन, तलब पनि पाएको छैन, खान पनि पाएको छैन, बिजोग छ ।' 

गुनाशो ९:

साउदीमा रहेका ध्रुब कार्कीले साउदीको स्थिति बारे गुनाशो गर्दै भनेका छन् 'म जस्ता हजारौं नेपाली युवा साउदी अरबमा छौं, यहाँ अहिलेसम्म कुनै पनि कम्पनी बन्द भएको छैन । बेलुका ७ बजेबाट बिहान ६ बजेसम्म मात्र कर्फ्युले हामी सुरक्षित छैनौं । काम चलिरहेको छ । १२ घण्टासम्म काम गर्नुपर्छ, नेपाल सरकारले कि यतै सुरक्षित रूपमा बस्ने वातावरण मिलाइदिनु पर्यो कि भने आफ्नो देश फिर्ता लैजानु पर्यो, मरे नि बचे पनि आफ्नै देश प्यारो ।' 

गुनाशो १०:

धादिङ घर भएका एक युवा अहिले विद्यार्थी भिषामा साइप्रसमा छन् । पुतलीसडकमा रहेको एक कन्सलटेन्सीले साइप्रस पुगेर मासिक १ लाख कमाई हुन्छ भन्ने आशा देखाएपछि १० लाख खर्च गरेर साइप्रस पुगेको उनले बताए । उनले भने 'यहाँ नेपाली विद्यार्थीहरुको हालत अर्कै रहेछ । विद्यार्थी भिषामा आएकाहरु ६ महिनादेखि काम नपाएर बसेका रहेछन् । म आएको १५ दिन नबित्दै कोरोना भाइरसको महामारी सुरु भयो । नेपाल फिर्ता हुने धेरै प्रयास गरें तर आउन सकेको छैन । यहाँ कलेजमा समेत गएको छैन । लकडाउन पछि त झन सबै ठप्प छ । यहाँ आएको केहि दिनमा नेपालबाट ल्याएको खर्च सकियो । केहि दिन चर्चमा गएर दिनमा एक छाक खाएर बसें तर अहिले त्यसरी खान पनि पाएको छैन । नेपालबाट पैसा पठाउलान् र खान पाइएला भन्ने आशामा छु । त्यसमा पनि कोरोनाको त्रास छ । २/३ दिनदेखि पेटभरी खान पाएको छैन । कोठा भाडा तिरेन भनेर घरबेटीले पासपोर्ट पनि लग्यो ।' 

विदेशमा कामदार भिषामा गएकाहरुलाई मात्र होइन बिद्यार्थी भिषामा गएकाहरुलाई अझै तनाब छ । विद्यार्थी भिषामा गएकाहरु अधिकांशले ठूलो आर्थिक लगानी गरेर बिभिन्न देशमा छन् । पढ्ने भनेर गए पनि अधिकांशले त्यहाँ गई काम गरेर आफ्नो समस्या टार्दै आएका छन् तर कोरोनाको कारण बिभिन्न देशमा गएका नेपाली विद्यार्थीहरु यतिखेर आर्थिक संकटमा छन् । उनीहरुलाई आफैले आफ्नो खर्च धान्ने अवस्था छैन त्यसमा पनि नेपालबाट पैसा पठाउने सहज अवस्था पनि छैन । अधिकांश देशहरुमा पुगेर कलेजमा शुल्क तिर्न र खान/बस्न जेनतेन धान्न पार्टटाइम काम गर्नेहरु अहिले सबै व्यापार व्यवसाय ठप्प भएपछि कोठाभित्रै थुनिएका छन् । जसको कारण खान/बस्नको लागि आर्थिक संकट छ । 

ठूलो खर्चमा विदेश गएको अवस्थामा कोरोनाको कारण सम्बन्धित देशले जस्तोसुकै निर्णय लिन सक्ने र आफ्नो भविष्य के हुने भन्ने चिन्ता उनीहरुमा छ । नेपाली विद्यार्थीहरुको मुख्य गन्तव्य देशहरुमै अत्याधिक कोरोना संक्रमणको त्रास छ जसको कारण पहिलो डर संक्रमणकै छ । नेपाल सरकारले विदेशमा समस्यामा परेकाहरुलाई पैसा पठाउन सहज बनाएको छ तर त्यसको पनि सिमा निर्धारण गरिएको कारण व्यवस्थापनमा असहज भएको गुनाशो आएका छन् । 

सरकारले विदेशमा बसेकालाई वेवास्ता गरेकै हो त ? 

नेपालमा लकडाउनको स्थिति छ । सरकारलाई सबैभन्दा ठूलो टाउको दुखाई विदेशबाट फर्किएकाहरु नै छन् । किन भने कोरोना भाइरसको उच्च जोखिम विदेशबाटै आउनेहरु हुन्छन् । आफैले टिकट काटेर नेपालीहरु आफ्नो देश फर्कन्छु भने पनि उनीहरुले नेपाल आएर सरकारी निर्देशन पालनागर्ने/नगर्नेमा शंका सरकारलाई छ । त्यसमा पनि ४० लाख भन्दा बढी नेपाली विदेशमा रहेको अवस्थामा वर्तमान परिस्थितिमा विदेशबाट आउन चाहने सबैलाई व्यवस्थापन गर्ने सामर्थ्य राख्नु सहज छैन । कोरोनाकै कारणले अधिकांश अन्तराष्ट्रीय उडानहरु बन्द गरिएका छन् । नेपालको आफ्नै विमानले दैनिक नेपाली बोक्ने हो भने पनि अधिकतम समस्या भोगेकाहरुलाई नेपाल फिर्ता गराउने सम्भव छैन । 

सरकारले विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे सम्वेदनशील रहेको भन्दै आएको छ । विभिन्न देशमा रहेका राजदुतहरु मार्फत, मन्त्री स्तरीय र प्रधानमन्त्री केपी शर्मा ओली आफैले बहराइनका प्रधानमन्त्री र युएईका युवराजलाई टेलिफोन मार्फत नेपालीहरुको सम्बन्धमा कुरा गरेको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका दूताबासमार्फत नेपालीहरुको अवस्थाबारे बुझ्ने काम गरिरहेको प्रधानमन्त्रीले मंगलबारको सम्वोधनका क्रममा जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीले सम्वोधनकै क्रममा पनि विदेशमा रहेका नेपालीहरुबारे चासो व्यक्त गरेका छन् ।  उनले सम्वोधनमा विदेशमा रहेका नेपालीहरुप्रति सङ्कटको यस घडीमा आफ्नो सहानुभूति, साथ र सद्भाव रहेको बताएका छन् । उनले दूतावास र मिसनहरु प्रवासी र गैरआवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेको उनले आफ्नो सम्वोधनमा भनेका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद सुरु गरेको बताएका छन् । उनले भनेका छन् 'परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो आग्रह छ- सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।'

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा भनेका छन् 'नेपालमा लकडाउन सुरु भएपछि नेपाल-भारत सीमानजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले  भोग्नुपरेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर, सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवत-जावत बन्द गर्नैपर्ने बाध्यता छ ।' 

प्रधानमन्त्री ओलीले भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्ट रहेका २ हजार १४७ नेपालीहरुलाई उतै क्वारेन्टाइनमा राखिएको र सीमाको वारि रहेका करिब ७००  भारतीय नागरिकहरुलाई नेपालले आफ्नै क्वारेन्टाइनमा राखेको जानकारी गराएका छन् ।' 

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा विदेशमा रहेका नेपालीहरुलाई निश्चित अवधि पूरा भएपछि स्वास्थ्य परीक्षण गरेर देशभित्र भित्र्याउने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!