बागलुङमा २८ वडा विपद्को उच्च जोखिममा

Posted on: 15 Jul, 2019

असार ३० बागलुङ |  जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम र आठ वडामा विपद्को जोखिम न्यून छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको मनसुन आपत्कालीन कार्ययोजनामा जोखिमयुक्त स्थान किटान गरिएको छ । विगतको बाढीपहिरोको प्रवृत्ति, स्थानीय तहको प्रतिवेदन र स्थलगत अध्ययनका आधारमा जोखिमको अवस्था निक्र्यौल गरिएको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै खोला र तटीय क्षेत्रमा बाढीको खतरा देखिन्छ । समितिका अनुसार गलकोट नगरपालिका–१ दुदिलाभाटी, १० पाण्डवखानी, काठेखोला गाउँपालिका–१, २, ४, ५, ६ र ७ बागलुङ नगरपालिका–८ सिगाना, १० भकुण्डे, ११ रायडाँडा, १२ अमलाचौर पहिरोको उच्च जोखिममा छ ।

ताराखोला गाउँपालिका–४ र ५, जैमिनी नगरपालिका–२, ३ दमेक, ४ सर्कुवा, ७ जैदी, ८ छिस्ती, बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट, निसीखोला गाउँपालिका–७ राजकुत, बडिगाड गाउँपालिका–१, २, ५, ६, ७, ८ र ढोरपाटन नगरपालिका–४ खुङ्गामा पहिरोको उच्च जोखिम छ ।

यस्तै ढोरपाटन नगरपालिका–५, ६, ७, ८, ९, गलकोट नगरपालिका–३ र ४, तमानखोला गाउँपालिका–५ र ६ लगायतका २४ वडा पहिरोको मध्यम जोखिममा छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थान, काठेखोला गाउँपालिका–८ लेखानीलगायतका आठ वडामा पहिरोको जोखिम न्यून देखिएको छ ।बडिगाड, दरमखोला, काठेखोला, ठेउलेखोला, निसी, भुजी, तमानखोलालगायत कालीगण्डकी नदीको तटीय क्षेत्रमा पनि बाढीपहिरोको उच्च जोखिम आँकलन गरिएको छ । २५ भन्दा बढी स्थान नदी र खोलाबाट प्रभावित रहेका छन् । बर्सातमा हुनसक्ने सम्भावित विपद्का घटना न्यूनीकरण र व्यवस्थानका लागि मनसुन पूर्वतयारी कार्ययोजना बनाएर काम थालिएको समितिका अध्यक्ष एवं प्रजिअ लुकबहादुर क्षत्रीले बताउनुभयो ।

“कामना गरौँ जिल्लामा कुनै प्राकृतिक प्रकोपका घटना नहोऊन्”, उहाँले भन्नुभयो, “यदि भइहाले पनि जोखिम न्यूनीकरण तथा उद्धारका लागि हामी २४ सै घण्टा तयारी हालतमा छौँ ।” खोज र उद्धारमा खटिने जनशक्ति र उपकरणसमेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ थियो ।

सम्भावित विपद् न्यूनीकरण, उद्धार, राहत तथा पुनस्र्थापनका सम्बन्धित पक्ष र निकायलाई सतर्कता अपनाउन समितिले अनुरोध गरेको छ । प्राकृतिक प्रकोपका घटना हुँदा तत्काल उद्धारका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको यहाँ रहेको विपद् व्यवस्थापन गुल्मका प्रमुख मुकुन्दराज खरेलले बताउनुभयो । उहाँका अनुसार उद्धारमा चाहिने अपुग उपकरण तथा सामग्री सम्बन्धित निकायमा माग गरिएको छ ।

समितिले पनि जिल्लाका सुरक्षा निकायमा रहेका खोज तथा उद्धार सामग्रीको विवरण राख्ने र अपुग उपकरण व्यवस्थापनका लागि सहजीकरण गरिरहेको छ । यस्तै नेपाली सेनाको अर्जुनबाण गणमा पनि उद्धारका लागि तालीमप्राप्त जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको गणपति भुवनराज देवकोटाले बताउनुभयो ।

“उद्धारसम्बन्धी कार्यका लागि नियमित तालीम र अभ्यास भइरहेको छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा हामी तत्कालै घटनास्थलमा खटिन्छौँ । बर्सेनी बाढीपहिरोका कारण जिल्लामा ठूलो धनजनको क्षति हुने गरेको छ । २०६४ सालमा बडिगाडको ग्वालीचौरमा गएको पहिरोमा परी २९ जनाको ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!