अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरबाट धुर्मुस-सुन्तलीलाई सहयोग, कति उठ्यो ?

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं । नेपालमै पहिलो अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानमा जुटेका धुर्मुस-सुन्तलीले मलेसियाको बिभिन्न ३ सहरबाट ३५ लाख ७१ हजार उठाएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट फाउन्डेसनले ३५ लाख ७१ हजार रुपैयाँ जुटाएको हो । जसमा १५ लाख रकम आयोजक सिटी एक्सप्रेसले प्रदान गरेको छ । 

मलेसियाको क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरि उनीहरुले सहयोग रकम उठाएको कुरा धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । 


धुर्मुस सुन्तली फाउन्डेसनको आधिकारिक फेसबुकमा उल्लेख छ- 

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफुले सकेको सहयोग पनि खुलेर गर्नुभयो । 

कार्यक्रम स्थलबाट हामीलाई नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको छ । 

मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी निकै धेरै हर्षित भएका छौं । त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिनुभएको निम्तोले झनै बढी हर्षित भएका छौं । आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौं । 

स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं । साथै मलेसियाको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई धेरै धेरै धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं । 

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’


यस बिषयमा तपाइको प्रतिक्रिया...!