मलेसियामा आजबाट रेष्टुरेष्ट र खाजा घरमा चुरोट खान नपाइने, खाए यस्तो सजाय हुने

Posted on: 01 Jan, 2019

पुस १७, काठमाडौं | मलेसियामा आजबाट रेष्टुरेण्ट र खाजा खाने ठाउँमा चुरोट खान नपाइने भएको छ । 

यस्ता सार्वजनिक ठाउँमा चुरोट खाँदा बालबालिका र गर्भवती महिलासहित धेरै प्रभावित हुने भन्दै मलेसिया सरकारले चुरोट खान प्रतिबन्ध लगाएको हो । यदी प्रतिबन्ध लगाएको ठाउँमा चुरोट खाएको पाइए १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्नेछ ।

यस्तै रेष्टुरेण्टहरुले चुरोट खाने अनुमति दिएको पाइए उनीहरुलाई समेत २५ सय रिंगिट जरिवाना हुनेछ । साथै रेष्टुरेण्टहरुले धुमपान गर्न मनाही गरिएको सन्देश दिने चित्र प्रष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने छ । 

जरिवाना र जेलको प्रावधान ६ महिनासम्म लागु गरिने छैन । सुरुमा प्रचारप्रसार गरिने, चुरोट खाएको भेटिए सम्झाउने तर पटक पटक दोहोर्याए उनीहरुको विवरण राखिने सरकारले जनाएको छ । 

प्रतिबन्ध लगाइएका ठाउँमा चुरोटसँगै हुक्का जस्ता निकोटिनजन्य पदार्थ पनि खान पाइने छैन । प्रतिबन्ध लगाइएका ठाउँबाट तीन मिटर परसम्म यो नियम लागु हुने द स्टारले जनाएको छ । मलेसियाका स्वास्थ्यमन्त्री जुक्लिफी अहमदले यसलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!