बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग

Posted on: 17 Mar, 2023

चैत २, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ ।

उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा खतिवडाले  विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पु¥याएको खबर प्राप्त भएकाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । 

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनुभयो । अलपत्र परेका महिलामा सानुमाया तामाङ (नुवाकोट), कविता थापामगर र अञ्जना मगर (रामेछाप), रत्नमाया राई (धनकुटा), पार्वतीमाया तितुङ (मकवानपुर), रमिता राई (भोजपुर), सुष्मा तामाङ (काभ्रेपाल्चोक), मीना गुरुङ (चितवन) र मार्था सोताङ राई (मोरङ) हुनुहुन्छ ।

यसैबीच एकीकृत समाजवादीले विज्ञाप्ति जारी गर्दै बेलारुसमा अलपत्र पारिएका महिलाको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा बेलारुसमा नौ नेपाली महिलालाई लामो समयदेखि अलपत्र पारिएकामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!